मौद्रिक नीतिमा चुकेको राष्ट्र बैंक, अर्थले बाटो खोलेपछि सार्वजनिक गर्दै

लोकपथ
676
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।

अर्थ मन्त्रालयले बाटो खोलेसँगै राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने भएको हो । राष्ट्र बैंकले छिटै मौद्रिक नीति सार्वजनिक गर्न लागेको राष्ट्र बैंक स्रोतले जनाएको छ ।

असार मसान्तसम्ममा आइसक्नुपर्ने मौद्रिक नीति सरकार परिवर्तन भएसँगै अर्थ मन्त्रालयले हस्तक्षेप गरपछि अड्किएको थियो । अर्थ मन्त्रालयले अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट संशोधन गर्न लागेकाले मौद्रिक नीति पनि प्रभावित भएको थियो । अर्थमन्त्री जनार्दन शर्मा स्वयमले पनि चासो राखेकाले मौद्रिक नीति रोकिएको अर्थ मन्त्रालय स्रोतले बताउँदै आएको थियो ।

तर पछिल्लो समय राष्ट्र बैंकले आफ्नो स्वायत्तता बचाउन स्ट्याण्ड लिन नसकेको तथा राष्ट्र बैंकलाई अर्थ मन्त्रालयले हस्तक्षेप गरेको भन्दै आलोचना हुन थालेपछि अर्थमन्त्री शर्माले आफूले राष्ट्र बैंकलाई कुनै पनि किसिमको हस्तक्षेप नगरेको बताएपछि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।

तर, राष्ट्र बैंकले भने सरकारको दबाबमा नपरेको जनाएको छ । मौद्रिक नीतिको तयारीकै कारण ढिलाइ भएको भन्दै अब छिटै मौद्रिक नीति सार्वजनिक गर्ने राष्ट्र बैंकले जनाएको छ । ‘अब हामी ढिलाइ नगरी मौद्रिक नीति सार्वजनिक गर्छाैँ ।’ राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाले भने ।

राष्ट्र बैंकको गभर्नरमा अहिले महाप्रसाद अधिकारी छन् । गभर्नर अधिकारी राजनीतिक दबाबमा परी राष्ट्र बैंकको स्वायत्तता जोगाउन स्ट्यान्ड लिन नसकेको भन्दै अहिले सर्वत्र आलोचना भइरहेको छ ।

सरकारले हरेक जेठ १५ गते बजेट ल्याउनुपर्ने व्यवस्था छ । बजेट सार्वजनिक भएपछि त्यसलाई सहयोग पुग्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्नुपर्ने कानुनी व्यवस्था छ । त्यसैले राष्ट्र बैंकले हरेक असार मसान्तभित्र मौद्रिक नीति सार्वजनिक गर्दै आएको छ । तर यसपाली साउनको आधा महिना सकिँदा पनि मौद्रिक नीति सार्वजनिक हुन सकेको छैन । आक्रान्त बनाएको बेला असारमा राजस्व उठाउन समस्या हुने देखेपछि गत वर्ष पनि राष्ट्र बैंकले नयाँ आर्थिक वर्ष सुरु भएपछि मात्रै मौद्रिक नीति सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?