माओवादी केन्द्रको स्थायी कमिटी बैठक सकियो, के–के भयो निर्णय?

लोकपथ
504
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले श्रावण ३० गतेभित्र देशभरमा वडा कमिटी गठन गर्न निर्देशन दिएको छ ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटी बैठकले पार्टीका सबै कमिटीहरुलाई साउन ३० गतेभित्र सबै वडा कमिटीको गठन गर्न र पार्टीको आगामी केन्द्रीय कमिटीको बैठकमा आउने केन्द्रीय सदस्यहरुले प्रदेश कमिटीबाट अद्यावधिक विवरण लिएर आउन निर्देशन गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

उनले भने, ‘पार्टीका सबै कमिटीहरुलाई यही साउन ३० गतेभित्र देशभरीका सबै वडा कमिटीहरु गठन गर्न र त्यसको अध्यावधिक विवरण केन्द्रीय कमिटीको बैठकमा आउँदा केन्द्रीय कमिटीका सदस्यहरुले सम्बन्धित प्रदेशबाट लिई आउन निर्देशन दिने निर्णय पनि भएको छ।’ उनका अनुसार बैठकले पार्टीको केन्द्रीय कमिटी बैठक १० दिन पर धकेल्ने निर्णय पनि गरेको छ ।

यसअघि पार्टीको केन्द्रीय कमिटी बैठक साउन २० गतेदेखि बस्ने भनिए पनि आवश्यक तयारी गर्न अझै केही समय लाग्ने भएकाले केन्द्रीय कमिटी बैठक साउन ३० गतेदेखि बस्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । सरकार गठनका लागि माओवादीको तर्फबाट पठाउने मन्त्रीहरुको सम्बन्धमा निर्णय लिन माओवादीको स्थायी कमिटी बैठक सोमबार(भोलि) ३ बजे पुनः बस्ने पनि उनले जानकारी दिए ।

उनले भने,‘स्थायी कमिटीको बैठक सरकार गठनको पूर्णता सम्बन्धी विषयहरुलाई छलफल गर्न भोलि पुनः ३ बजे स्थायी कमिटीको बैठक बस्ने निर्णय गरिएको छ । आज अध्यक्ष प्रचण्डले सम्बन्धित घटकहरुसँग छुट्टाछुट्टै र सामूहिक रुपमा पनि वार्ता गर्ने निर्णय पनि गरिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?