किन ढिला भयो मन्त्रीमण्डल विस्तार ? माओवादी केन्द्रको धारणा यस्तो

लोकपथ
468
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले एमालेको नेपाल-खनाल पक्ष र जनता समाजवादी पार्टी (जसपा)को कारण मन्त्रीमण्डल विस्तारमा ढिलाइ भएको निष्कर्ष निकालेको छ ।

आज बसेको पार्टीको स्थायी कमिटी बैठकपछि बोल्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले सो कुरा बताएका हुन् ।

माओवादी केन्द्रले आफ्नो निर्णय दिइसकेको र जनमोर्चाले आफूहरु सरकारमा सामेल नहुने बताएपनि खनाल नेपाल पक्ष र जसपाले निर्णय नदिँदा समस्या उत्पन्न भएको बताए ।

बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले भने- ‘तर अब ढिला गर्नुहुन्न भन्नेमा गठबन्धन निष्कर्षमा पुगेको छ । जसपाले प्रक्रिया अघि बढाइसकेको छ । अरु पार्टीहरुसँग पनि निर्णायक तहमा कुराकानी भइरहेको छ । अब एक दुई दिनभित्रैमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेगरी अघि बढ्छौँ ।’

दुवै पक्षसँग सरकारमा सामेल हुनका लागि समय मागिएको र दुवै पक्षले छिट्टै नै निर्णय दिन लागेको उनले बताए । ‘जसपापछि एमालेको खनाल नेपाल पक्ष नै हो । जनमोर्चाले त सरकारमा नजाने निर्णय गरिसकेको छ । त्यसैले उहाँहरुकै लागि भनिएको हो । निर्णय गर्नका लागि केही दिन समय माग्नुभएको थियो । अब निर्णय दिनुपर्छ, दिनुहुन्छ ’ । प्रवक्ता श्रेष्ठले भने ।

त्यस्तै आजको बैठकले पार्टीको केन्द्रीय समिति बैठक आगामी साउन ३० गते बोलाउने निर्णय गरेको छ । साथै त्यसअघि नै देशभरका सबै वडाका वडा अधिवेशन सम्पन्न गरि केन्द्रीय कमिटी बैठकमा सो को प्रतिवेदन पेस गर्नका लागि समेत निर्देशन दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?