विस्तारै उठ्दैछ कोरोनाले थलिएको पोखरा

लोकपथ
26
Shares

गण्डकी । झण्डै दुई वर्षयता कोरोना कहरका कारण पर्यटकीय नगरी पोखरामा व्यवसाय ठप्प छ । व्यवसाय ठप्प भएसँगै यस क्षेत्रमा सम्बद्ध मजदूर बेरोजगार बनेका छन् । गत वर्ष कोरोनाको पहिलो लहर केही साम्य भएसँगै पोखराका पर्यटन व्यवसायीमा जागेको आशा महामारीको दोस्रो लहरले भत्काइदिएको छ ।

नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आन्तरिक पर्यटनलाई चलायमान बनाउने उद्देश्यका साथ पर्यटन सम्बद्ध सङ्घसंस्थाले पवर्द्धनात्मक कार्यक्रमका गतिविधि अघि बढाएका थिए । त्यसक्रममा मर्दी हिमाल पदयात्रादेखि धम्पुस पिक आरोहणका साथै प्रदेशका ढोरपाटनदेखि नवलपुरसम्मका विभिन्न स्थानमा पवर्द्धनका कार्यक्रम सम्पन्न भएका थिए । कोरोनाको दोस्रो लहर बढेपछि यी सबै क्रियाकलापसमेत पुनःठप्प बनेको पर्यटन अझै सुनसान छ ।

पर्यटनलाई पुनःचलायमान बनाउन यतिखेर पोखराका पर्यटन व्यवसायी प्रदेश हुँदै सङ्घीय सरकारसँग खोपको सुनिश्चितताको माग गरेका छन् । पोखरा पर्यटन परिषद्को अगुवाइमा पछिल्ला दिनमा प्रदेशका मुख्यमन्त्रीदेखि सम्बद्ध मन्त्रीलाई भेटी पर्यटन क्षेत्रलाई चलायमान बनाउन तत्काल खोपको व्यवस्था गर्न माग गरिएको छ ।

परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई आफूहरूलाई पहिलो चरणमा होटल तथा रेष्टुरेन्टसहितका मजदूर एवं व्यवसायीलाई लक्षित गरी कोरोनाविरुद्धको पाँच हजार खोप तत्काल आवश्यक भएको बताउँछन् । ‘पोखरामा पर्यटन व्यवसायीका लागि भने २० हजार मात्रा खोप आवश्यक भए पनि तत्कालका लागि पर्यटन बजारमा राम्रो सन्देश दिने गरी पाँच हजार खोप व्यवस्था गर्न माग गरेका छौँ’, उनले भने ।

गण्डकी प्रदेश सरकारले अघिल्लो वर्षमा ल्याएको एक अर्बको व्यवसाय जीवन रक्षा कोष अधिकांश साना तथा मझौला व्यवसायीको पहुँचमा नभएको दाबी गर्दै उनले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋणको किस्ता तथा ब्याज आगामी दुई वर्षसम्म तिर्नसक्ने कुनै सम्भावना नभएकाले कर्जा तालिकालाई पुर्नतालिकीकरण गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?