अब सांसदहरुको तलब भत्ता सरकारी बैंकबाट भुक्तानी हुने

लोकपथ
104
Shares

काठमाडौं । अब सांसदहरुको तलब तथा भत्ता सरकारी बैंकबाटै भुक्तानी हुने भएको छ ।

हालसम्म निजी बैंकहरुबाट भुक्तानी दिइदैँ आएको सांसदहरुको तलब भत्ता राष्ट्रिय वाणिज्य बैंकबाट दिन लागिएको हो ।

संघीय संसद सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै लामो समयको प्रयासपछि संघीय संसद सचिवालको सम्पूर्ण कारोबार राष्ट्रिय वाणिज्य बैंकबाट सुचारु गर्न प्रारम्भ गरिएको जानकारी गराएको छ ।

‘लामो समयको अथक प्रयत्नपछि निजी बैंकबाट हुँदै आएको संघीय संसद सचिवालयको सम्पूर्ण सरकारी कारोबार पूर्ण सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकमार्फत गर्न प्रारम्भ गरिएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिनिधिसभाको बैठकमा पटक-पटक सांसदहरुले सरकारी खाता निजी बैंकहरुमार्फत उठाइएको भन्दै आवाज उठाएका थिए । सार्वजनिक कार्यक्रमहरुमा समेत सो कुरा उठेपछि सभामुख अग्निप्रसाद सापकोटाले सोहीबमोजिम गर्नका लागि निर्देशन दिएका थिए ।

सभामुख सापकोटाको निर्देशनबमोजिम संघीय संसद सचिवालयले २०७७ मंसिर १८ गते सरकारी कारोबार गर्ने बैंक परिवर्तन गरी पूर्ण सरकारी स्वामित्व भएको बैंक, राष्ट्रिय वाणिज्य बैंकमार्फत गर्ने व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई पत्राचार गरेको थियो ।

सचिवालयले २०७८ असार ३१ गते पुनः ताकेता गरी खाता परिवर्तनका लागि अनुरोध गरेको थियो । सभामुख सापकोटाको पहलपछि अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंक तथा महालेखा नियन्त्रकको कार्यालयमार्फत हालै सिंहदरबारस्थित सबै कार्यालयका सरकारी खाताहरू सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमार्फत संचालन गर्न निर्देशन दिएको छ ।

त्यसै गरी राष्ट्रिय वाणिज्य बैंकलाई समेत सिंहदरबार शाखाको स्तरोन्नति र सेवा सुविधा विस्तरको लागि समेत अनुरोध गरिएको संघीय संसद सचिवालयले जनाएको छ। यसअघि सरकारी खाताहरु एभरेष्ट बैंकमार्फत संचालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?