टोकियो ओलम्पिक: स्विट्जरल्यान्डकी बेलिन्डा बेन्सिकले जितिन् महिला टेनिसमा स्वर्ण पदक

काठमाडौं। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला टेनिस (सिंगल) विधातर्फ स्विट्जरल्यान्डकी बेलिन्डा बेन्सिकले स्वर्ण पदक जितेकी छिन्।

टोकियोस्थित आरियाके टेनिस कोर्टमा खेलिएको फाइनल खेलमा ओलम्पिक डेब्यू गरेकी विश्व नम्बर ९ बेलिन्डा बेन्सिकले चेक गणतन्त्रकी मार्केटा भोनड्रोउसोभालाई ७-५, २-६ र ६-३ को सेटमा पराजित गर्दै स्वर्ण पदक जितेकी हुन्।

जम्मा २ घण्टा ३० मिनेट लामो समयसम्म चलेको फाइनल खेलमा पहिलो सेटमा जित निकालेकी बेन्सिकले दोस्रो सेटमा भने पराजय भोगेकी थिइन्। तर तेस्रो तथा निर्णायक सेटमा ३९ अंक जोडेकी बेन्सिकले आफ्नो डेब्यू ओलम्पिकमै स्वर्ण पदक जित्न सफल भइन्।

बेलिन्डा बेन्सिकले स्वर्ण पदक जित्दा भोनड्रोउसोभाले रजत पदक जित्न सफल भईन। त्यस्तै काश्य पदकको लागि खेलिएको खेलमा युक्रेनकी एलिना स्वितोलिनाले काजकिस्तानकी एलेना राइबाकिनालाई १-६, ७-६ (७/५) र ६-४ को सेटमा पराजित गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?