मोहम्मद हफिजको उत्कृष्ट बलिङमा वेस्ट इन्डिज पराजित

काठमाडौं। वेस्ट इन्डिज भ्रमणमा रहेको पाकिस्तानी क्रिकेट टोलीले दोस्रो टी-ट्वेन्टी खेलमा ७ रनले जित दर्ता गरेको छ।

गुयानास्थित प्रोभिडेन्स स्टेडियममा खेलिएको खेलमा वेस्ट इन्डिजले टस जितेर बलिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङको निम्तो पाएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५७ रनको योगफल तयार गरेको थियो। पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक ५१ रन बनाउँदा विकेट किपर मोहम्मद रिजवानले ४६ रनको योगदान दिएका थिए।

वेस्ट इन्डिजका लागि तिब्र गतिका बलर जेसन होल्डरले व्यक्तिगत ४ ओभरमा मात्र २६ रन खर्चेर ४ विकेट लिन सफल भएका थिए। जवाफी ब्याटिङमा १५८ रनको लक्ष्य पछ्याउने क्रममा वेस्ट इन्डिज १५० रनमै रोकियो। वेस्ट इन्डिजका लागि विकेटकिपर निकोलस पुरनले अविजित ६२ रन बनाउँदा एविन लुइसले ३५ बनाउन सफल भए। निर्धारित २० ओभरमा मात्र ४ विकेट गुमाउँदा पनि वेस्ट इन्डिजले लक्ष्य पूरा गर्न सकेन।

पाकिस्तानका लागि स्पिनर मोहम्मद हफिजले उत्कृष्ट बलिङ गरे। उनले व्यक्तिगत ४ ओभरमा १ विकेट र १ मेडन ओभर गर्दै मात्र ६ रन खर्चिए। शानदार बलिङ प्रदर्शनीका लागि हफिज खेलको ‘म्यान अफ दि म्याच’ पनि घोषित भए। यस जितसँगै पाकिस्तानले ४ टी-ट्वेन्टी खेलको शृंखलामा १-० को अग्रता लिएको छ। पहिलो टी-ट्वेन्टी खेल वर्षाका कारण रद्द भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?