पश्चिमी संस्कृतिको प्रभाव : हराउँदै गयो मितेरी साइनोको चलन

नरिसाऊ मितिनीज्यू,
नरिसाऊ मितिनीज्यू,
खुट्टैमा गर्दिन्छु म त ज्यू–ज्यू
मोही पार्ने घार्रघुर्र
मदानीमा घिउ बटुकीमा
दही ल्याई घुटुघुटु पिउ

नयाँ पुस्ताले बिर्सँदै गएको साइनो वा सम्बन्ध हो, मित-मितीनी अर्थात् मितेरी साइनो । कुनै दुई व्यक्तिका बीचमा विशेष औपचारिक विधिअनुसार पारस्पारिक बन्धुभाव गाँसिएको हितैषी साथी वा मित्र भनी मितेरी साइनोलाई बृहत् नेपाली शब्दकोषमा परिभाषित गरिएको छ ।

अहिलेको पुस्तासँग मितेरी साइनोको बारेमा सोध्यो भने एक–अर्काको मुख हेर्छन् तर प्राचीन कालदेखि चलिआएको एउटा सुमधुर सम्बन्धको बलियो धार हो मितेरी साइनो । यसले महत्वपूर्ण विशेषता बोकेको छ । कसैको मित छैन वा कसैको मितिनी छैन भन्दा यसमा त्यस्तो के छ ? मित÷मितिनी हुनैपर्ने हो र ? भन्ने लाग्ला ।

यो एउटा अन्जान सम्बन्धलाई सुमधुर सम्बन्ध बनाउन मदत गर्ने बाचा हो, जसले दुई फरक समाज, फरक परिवार, फरक जात, र फरक क्षमता भएकालाई एक बनाउँछ । त्यस्तै फरक अस्तित्व, फरक भूगोल अनि फरक संस्कृति र फरक परिवेश समेत भएका फरक व्यक्तिसँग जोड्ने गर्दछ । हिमाली जिल्ला सोलुखुम्बुको शेर्पालाई तराईको चौधरीसँग एउटै थालमा खाने घनिष्ठ मित्र बनाउँछ मितेरी साइनोले ।

जुम्लाको क्षत्री र इलामको मगरलाई एउटै ओछ्यानमा सुत्ने वातावरण बनाइदिन्छ मितेरी साइनोले । पूर्वको अन्जान मान्छेलाई पश्चिमको मान्छेसँग नजिक बनाइदिन्छ मितेरी साइनोले । यसले दुई समुदाय र समाजबीच भावनात्मक सम्बन्ध स्थापित समेत गराइदिन्छ ।

तर अहिलेको समयमा मितेरी साइनो दिनानुदिन लोप हुँदै गइरहेको छ । गाउँघरमा कहीँकतै अझै पनि मितेरी साइनो लगाउने चलन छ, तर सहरमा भने यो साइनोको नाम निशाना नै हराएर गएको छ । मानिसहरू आधुनिकतातिर धकेलिँदै गर्दा प्राचीन कालदेखि चलिआएका यस्ता पुराना चलन, मूल्य मान्यता र विश्वास सबै बिर्सँदै गइरहेका छन् ।

मितेरी साइनो किन लगाइछ ?
मित/मितिनी अर्थात् मितेरी साइनो लगाउनुको मुख्य उद्देश्य भनेको नै कहिल्यै नचिनेको, नभेटेको मान्छेलाई घनिष्ठ मित्र बनाउनु हो । अझ कतिपय अवस्थामा त सधैँ झगडा गर्ने दुई व्यक्तिलाई मिलाउने अचुक औषधिका रुपमा समेत यसलाई लिने चलन थियो । मित लगाएपछि एकअर्कालाई सम्मान गर्नुपर्ने र त्यसो नगरे पाप लाग्ने डरले यो सम्बन्ध अरुजस्तो सस्तो र कुरा नमिले तोडिहाल्ने खालको नभएर मजबुत खालको सम्बन्ध हो ।

हाम्रो समाजमा मितेरी सम्बन्धको यति ठूलो महत्व छ कि बाबुआमाको मृत्यु हुँदा आफ्नो छोराछोरी नजिक नभएको खण्डमा मितछोरा वा मितछोरीले पनि काजकिरिया गर्न मिल्छ भन्ने मान्यता समेत चलिआएको छ । कहिल्यै नदेखेको कहिल्यै नभेटेको, पूर्व, पश्चिम जहाँको भए पनि मितेरी साइनो जोडेपछि ऊसँग घनिष्ठ मित्र सम्बन्ध रहन्छ ।

मित लगाउँदा के–के गरिन्छ ?
मित लगाउनको लागि ठाउँअनुसारको सगुन राखिएको हुन्छ । यो दुवैतिरबाट राखिन्छ । आफ्नो संस्कार र परम्पराअनुसार चलनमा भएअनुसार बिस्कुट, सेलरोटी, फलफूल, २ बोतल रक्सी आदि राख्ने गरिन्छ ।

सर्वप्रथम त मित÷मितिनी लगाउनको लागि दुई जना तयारी हुनुप¥यो । के कारणले मित÷मितिनी लगाउन तयार भएको खुलाउनु प¥यो, त्यसपछि एक–अर्काले ल्याएको उपहार साटासाट गर्ने, कहिल्यै झगडा गर्दैनौँ भनेर बाचा गर्ने, सँगै सुत्नु प¥यो भने विस्ताराको बीचमा केही साँध लगाउने, एक–अर्काको नामले बोलाउन नपाउने, मित÷मितिनीको साइनोचाहिँ साथी हुनुपर्ने, एक–अर्कालाई तिमी र तँ भन्न नपाइने तपाईँ नै भन्नुपर्नेजस्ता कुराहरू मित÷मितिनी लगाएपछि पालना गर्नुपर्ने नियमहरू हुन् यही मित्रताको सम्बन्धलाई बलियो गरी कस्ने नेपाली संस्कार हो मितेरी साइनो लाउने चलन ।

मित लगनउनु एकप्रकारले मित्रताको सम्बन्धलाई बलियो एवं दिगो बनाउने प्रयास हो । अनुहारको रूपरङ्ग, जातधर्म, भेषभूषा, उमेर आदिजस्ता कुनै पनि कुरा मित गाँस्ने सन्दर्भमा बाधा बन्दैनन् । मित मनको सम्बन्ध हो, सामाजिक व्यवहारको सम्बन्ध हो, जीवन अगाडि बढाउने क्रममा सुखदुःखलाई साझा भोगाइमा ल्याएर जीवनको मिठास बाँड्ने सम्बन्ध हो ।

मित लगाउँदा के हुन्छ ?
मितेरी साइनोको महत्व सामाजिक रुपमा मात्र नभएर वैज्ञानिक रुपमा समेत उत्तिकै रहेको छ । मनोचिकित्सकहरू भन्छन्– ‘मित्रतापूर्ण व्यवहारले मानसिक सन्तुलन गुमाएका वा मनस्थिति खल्बलिएकाहरूलाई समेत ठीक बनाउन सहयोग मिल्छ । घरपरिवारको माया नपाउँदा र एक्लो हुँदा धेरै पिर परेर हुने खालका मानसिक समस्या मित लगाउने वा मिल्ने साथी पाएपछि कम हुन्छ । नेपालमा यो विषयमा व्यवस्थित अध्ययन नभए पनि यस्ता किसमका धेरै घटना समाचारमा आइरहेका छन् ।

मित्रताका विषयमा विभिन्न विद्वानहरूले समेत आफ्ना मत व्यक्त गरेका छन्:
जीवनमा मित्रताभन्दा ठूलो सुख अर्काे छैन । –जोन्सन

कोही पनि मित्रहरूबिना बाँच्न चाहँदैन, चाहे ऊसँग संसारका बाँकी सबै राम्रा चीजबीज नै किन नहोउन् । –अरस्तु

जसले तिमीलाई खराब कुराबाट बचाउँछ, सत्यको बाटोमा हिँड्न प्रेरित गर्छ अनि जसले दुःखको समयमा पनि साथ दिन्छ उही मित्र हो । –तिरुवल्लुवर

जसले मित्रता तोडिने डरले सावधानी अँगाल्छ त्यो मित्र होइन । –गौतम बुद्ध

प्रकृतिले जनावरहरूलाई समेत मित्रको पहिचान गर्ने ज्ञान दिएको हुन्छ । –कोर्निल

विवेकी मित्र नै जीवनका लागि सबैभन्दा ठूलो वरदान हो । –युरिपिडिज

मित्र दुःखमा राहत हो, कठिनाइका समयमा पथप्रदर्शक हो, जीवनको खुसी हो, जमीनको खजाना हो, मानिसका रूपमा देवदूत हो । –जोसेफ हल

सबैसँग राम्रो गर, सर्वाेत्तमलाई नै मित्र बनाऊ । –इसोक्रेटस

मित्रता दुईवटा तत्व मिलेर बनेको छ– एउटा सच्चाइ र अर्काे कोमलता । –इमर्सन

मित्रताको परीक्षा विपत्तिको समयमा दिइएको सहयोगबाट हुन्छ र त्यस्तो सहयोग निःशर्त हुनुपर्छ । –महात्मा गान्धी

साँचो मित्रतामा कुशल वैद्यको जस्तो निपुणता एवं परख हुन्छ, असलभन्दा असल, माताको जस्तो धैर्य, एवं कोमलता हुन्छ, यस्तो मित्रता गर्ने प्रयास सबैले गर्नुपर्छ । –रामचन्द्र शुक्ल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?