संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानको हेरातमा भएको हमलाको निन्दा गरेका छन् ।
उनले हालै अफगानिस्तानको हेरातमा संयुक्त राष्ट्रसङ्घीय कर्मचारीमाथि भएको हमलाको कडा शब्दमा निन्दा गर्दै साथै सो हमलामा परी ज्यान गुमाउने सुरक्षाकर्मीप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।
साथै त्यस हमलामा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना समेत उनले गरे । उनले संयुक्त राष्ट्रसङ्घको कार्यालय र यसका कर्मचारीप्रतिको आक्रमण अन्तरराष्ट्रिय कानुनबमोजिम पनि निषेधित रहेको भन्दै यस्ता कार्यमा संलग्नलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताए।
उनका सहायक प्रवक्ता फराह हकले जारी गरेको प्रेस विज्ञप्तिमा यस्ता जघन्या हिंसा गर्ने व्यक्तिलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने उल्लेख छ ।
साथै उनले संयुक्त राष्ट्रसङ्घ सधैँ अफगानिस्तानको सरकार र यहाँका नागरिकको पक्षमा रहेको बताए । अफगानिस्तानमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घले पनि विगत लामो समयदेखि प्रयास जारी राखेको उनले सो विज्ञप्तिमा जनाए ।
यसरी नागरिकको शान्ति स्थापनाको चाहनाका लागि काम गर्ने संस्थामाथि भएको यस प्रकारको हिंसात्मक हमला कदापि क्षम्य नहुने उनका सहायक प्रवक्ताले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख छ ।
पछिल्ला केही दिनमा अफगानिस्तानमा यस्ता हिंसात्मक हमलाका घटनामा वृद्धि भएको र अफगानिस्तानको सरकारका अधिकारी तथा सुरक्षाकर्मीमाथि पनि तालिबानले हमला गर्ने गरेका छन् ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया