काठमाडौं। सन् २०२१/२२ फुटबल सिजन शुरु हुन अब एक महिना पनि बाँकि छैन।
क्लब फुटबल गतिविधि मैदानमा ठप्प रहेपनि पर्दा पछाडि कारोबार तिब्र गतिमा चलिरहेको अवस्था छ। सबै क्लबहरु नयाँ खेलाडी भित्र्याउने लक्ष्यका साथ सट्टा बजारमा उत्रिएका छन्।
कोरोना महामारीका कारण लगभग सबै क्लबलाई आर्थिक रूपमा संकट परेको अवस्था छ। रियल मड्रिड र बार्सिलोना जस्ता ठूला क्लब पनि ऋणको भारमा डुबेको अवस्थामा क्लबहरु निकै नै सतर्कता पूर्वक कारोबार गरिरहेका छन्। यद्यपि केही क्लबले भारी रकम खर्च गर्दै खेलाडी अनुबन्धित गर्दैछन् भने कुनै क्लबले निकै नै चलाखीपूर्ण ढंगले बार्गेन रकममा खेलाडी भित्र्याएका छन्।
यस सूची भने खेलाडीको क्षमता, गुण र कारोबारमा लागेको रकम सबैलाई समावेश गरेर बनाइएको छ। सन् २०२१ ‘समर ट्रान्सफर विन्डो’का १० उत्कृष्ट कारोबार:
१०) सर्जियो रामोस (रियल मड्रिड टू पीएसजी, फ्रि)

पीएसजी च्याम्पियन्स लिग उपाधि: ०
रामोस च्याम्पियन्स लिग उपाधि: ४
सर्जियो रामोस विश्वकै उत्कृष्ट मध्येका एक रक्षक हुन्। रामोस एक विजेता पनि हुन् र उनले आफ्नो फुटबल करियरमा सबै उपाधि जितिसकेका छन्।
रामोस बिना रियल मड्रिड उस्तै रहने छैन भने रामोसको आगमनले पीएसजी पनि उस्तै रहने छैन। रामोस जस्तो खेलाडीलाई फ्रि-ट्रान्सफरमा अनुबन्धित गर्न सक्नु, यस पटकको उत्कृष्ट कारोबारमा पर्दछ।
९) पिएरलुइगी गोलिनी (एटलान्टा टू टोटनह्याम हटस्पर, लोन)

सन् २०१८ विश्वकप विजेता तथा फ्रान्सका कप्तान हुगो लोरिस उत्तरी लन्डन क्लब टोटनह्यामका लेजेण्ड हुन्।
लोरिसको उमेर ढल्किँदै गरेको अवस्था छ र उत्कृष्ट गोलरक्षक हत्तपत्त पाउन सजिलो अवश्य पनि हुँदैन। नयाँ प्रशिक्षकको आगमनसँगै टोटनह्याममा आगमन भएको छ नयाँ गोलरक्षकको।
पिएरलुइगी गोलिनीले केहि वर्षदेखि इटालियन क्लब एटलान्टाका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् र टोटनह्यामले उनलाई लोनमा अनुबन्धित गर्न सक्नु निकै नै राम्रो कारोबार मान्न सकिन्छ।
८) माइक माइगन (लिल टू एसी मिलान, १२ मिलियन पाउण्ड)

युरो कप २०२० विजेता तथा प्रतियोगिताका उत्कृष्ट खेलाडी जियानलुइगी डोनारुम्माको प्रतिस्थापन खोज्नु लगभग असम्भव कुरा हो।
तर एसी मिलानले सो कार्य निकै नै उत्कृष्ट ढंगले पूरा गरेको छ। फ्रेन्च लिग-१ मा पीएसजीको दबदबा अन्त्य गर्दै एक दशक पछि उपाधि उचालेको लिलका गोलरक्षक माइक माइगन एसी मिलान पुगेका छन्।
२६ वर्षिय माइकले गत सिजन फ्रेन्च लिगमा सबैभन्दा कम गोल खाएका थिए। औसतमा दोस्रो उत्कृष्ट बचाउ प्रतिशत कायम गर्न सफल माइकलाई १२ मिलियन पाउण्डमा अनुबन्धित गर्नु शानदार कारोबार भन्न सकिन्छ।
७) जर्जिनियो वाइनाल्डम (लिभरपुल टू पीएसजी, फ्रि)

यस पटकको ट्रान्सफर मार्केटको बादशाह बनेको छ पीएसजी।
पछिल्लो समयमा लिभरपुलको पुनरागमनको मुख्य पात्र हुन् जर्जिनियो वाइनाल्डम। ६ वर्ष लिभरपुलमा बिताएका वाइनाल्डमले च्याम्पियन्स लिग, प्रिमियर लिग, सुपर कप तथा क्लब विश्वकप सबै जित्न सफल भएका थिए।
युरो कप २०२० मा आफ्नो राष्ट्र नेदरल्यान्ड्सको कप्तानी जिम्मेवारी बोकेका वाइनाल्डमलाई फ्रि-ट्रान्सफरमा अनुबन्धित गर्नु निकै नै चलाखीपूर्ण कारोबार मान्न सकिन्छ।
६) अस्रफ हाकिमी (इन्टर मिलान टू पीएसजी, ६० मिलियन पाउण्ड)

पीएसजीको ‘ट्रान्सफर विन्डो’ निकै नै व्यस्त रहेको छ। विश्वका उत्कृष्ट मध्येका एक राइट ब्याक पनि फ्रेन्च राजधानी पुगेका छन्।
रामोस र वाइनाल्डम जस्तो फ्रि-ट्रान्सफरमा भने अस्रफ हाकिमी भित्रिएका होइनन्। तर गत सिजन इटालियन सिरी-ए विजेतालाई ६० मिलियन पाउण्डमा भित्र्याउन सक्नु निकै नै शानदार कारोबार हो भन्दा गलत हुँदैन।
निकै वर्षदेखि पीएसजीमा उत्कृष्ट राइट ब्याकको कमी महसूस भएको छ। तर यस सिजनदेखि त्यस्तो हुनेछैन। हाकिमी उत्कृष्ट एट्याकिङ डिफेन्डर हुन्। गत सिजन उनले इन्टर मिलानका लागि ७ गोल तथा १० असिस्टको योगदान दिएका थिए।
५) डाविड अलाबा (बायर्न म्युनिख टू रियल मड्रिड, फ्रि)

सर्जियो रामोस र राफाएल भरान जस्ता दुई उत्कृष्ट रक्षकले यस वर्ष रियल मड्रिड छाडेका छन्।
यस्तो अवस्थामा रियललाई एक सुपरस्टार रक्षकको आवश्यकता थियो र उसले त्यो पाएको पनि छ। विश्वका उत्कृष्ट मध्येका एक खेलाडी हुन् अलाबा। र उनले यो कुरा बारम्बार बायर्न म्युनिखसँग हुँदा प्रमाणित पनि गरेका छन्।
फुटबल फिल्डमा लगभग सबै स्थानबाट उत्कृष्ट प्रदर्शन गर्ने क्षमता राखेका अलाबालाई बिना कुनै रकम अनुबन्धित गर्नु रियल मड्रिडको बठ्याइँ हो।
४) आन्द्रे सिल्भा (एसी मिलान टू आरबी लाइपजिग, २० मिलियन पाउण्ड)

गत सिजन पोर्चुगिज स्ट्राइकर आन्द्रे सिल्भाले बुन्डेसलिगामा उत्कृष्ट प्रदर्शन गरेका थिए। एसी मिलानबाट लोनमा फ्रान्कफर्ट गएका सिल्भाले गत सिजन २८ गोल गर्न सफल भएका थिए।
आरबी लाइपजिग र सिल्भा दुवै एट्याकिङ फुटबल खेल्न रुचाउँछन्। मात्र २० मिलियन पाउण्डमा उनलाई अनुबन्धित गर्नु लाइपजिगद्वारा शानदार कारोबारको उदाहरण हो।
३) जेडन सान्चो (बोरुसिया डर्टमन्ड टू म्यान्चेस्टर युनाइटेड, ७३ मिलियन पाउण्ड)

लामो समयको पर्खाइपछि जेडन सान्चो आखिरमा म्यान्चेस्टर युनाइटेड आएका छन्। र उनीसँगै आएको छ उपाधिको आशा।
जेडन सान्चो संसारका उत्कृष्ट मध्येका एक विंगर हुन् र उनको आगमनले युनाइटेडलाई उपाधि दावेदार बनाएको छ। उनको महंगो रकमको बावजुद पनि यस ट्रान्सफर मार्केटको यो उत्कृष्ट मध्येको एक कारोबार हो।
२) राफाएल भरान (रियल मड्रिड टू म्यान्चेस्टर युनाइटेड, ४० मिलियन पाउण्ड)

सन् २०१९ मा म्यान्चेस्टर युनाइटेडले कीर्तिमानी रकममा कप्तान ह्यारी मगवायरलाई भित्र्याएको थियो। तर उनको साझेदार भने युनाइटेडले बल्ल अनुबन्धित गरेको छ।
राफाएल भरान च्याम्पियन हुन्। उनले विश्वकप तथा च्याम्पियन्स लिग लगायतका सम्पूर्ण सफलता प्राप्त गरिसकेका छन्। मात्र ४० मिलियन पाउण्डमा भरान जस्तो रक्षक भित्र्याउनु, म्यान्चेस्टर युनाइटेडले तारिफयोग्य काम गरेको छ।
१) जियानलुइगी डोनारुम्मा (एसी मिलान टू पीएसजी, फ्रि)

पीएसजीले गरेको कारोबार मध्येको यो सर्वोत्कृष्ट कारोबार रहेको छ। युरो कप २०२० विजेता तथा सो प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिएका जियानलुइगी डोनारुम्मा उमेरले २२ पुगे।
संसारकै उत्कृष्ट मध्येका एक गोलरक्षक डोनारुम्माले करिब दुई दशक उच्च तहमा प्रदर्शन गर्नेछन् र त्यो निश्चित छ। १६ वर्ष देखि एसी मिलानको नम्बर १ गोलरक्षक भएर प्रदर्शन गर्दै आएका डोनारुम्मालाई बिना कुनै रकम क्लबमा अनुबन्धित गर्नु, पीएसजीलाई ‘ह्याट्स अफ’।
(फोटमोबको सहयोगमा)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया