भदौ १६ मै महाधिवेशनको उद्घाटन गर्न चाहन्छु : सभापति देउवा

लोकपथ
133
Shares

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको १४औँ महाधिवेशन भदौ १६ मै गराउने अठोट पुनः दोहोर्‍याएका छन् । उनले ‘सबै मिलेर विवाद समाधान गरेर जाऔँ, म भदौ १६ गते नै महाधिवेशनको उद्घाटन गर्न चाहन्छु,’ भनेर बैठकमा महाधिवेशन गराउने अडान व्यक्त गरेका हुन् ।

पछिल्लो समयमा कांग्रेसका शीर्ष नेताहरू विवाद समाधानका लागि अहोरात्र खटेका छन् । तल्लो तहका नेताहरूले आफ्नो जिम्मेवारी पूरा नगरी केन्द्रमा क्रियाशील सदस्यको विवरण पठाएका कारण महाधिवेशनको स्थानीय तहको कार्यतालिका नै प्रभावित भएको छ ।

नेताहरूका अनुसार क्रियाशील सदस्यताको ९८ प्रतिशतको काम सकिएको छ । यो विवाद समाधान गर्न लागि बूढानीलकण्ठमा शुक्रबार बसेको शीर्ष नेताहरू सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताहरूबीच घनीभूत छलफल भएको छ ।

पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतले क्रियाशील सदस्यताको विवाद मिलाउन नेताहरू छलफलमा जुटेको जानकारी दिँदै छिट्टै निकास निस्कने जानकारी दिए । उनले क्रियाशील सदस्यता छानबिन समितिले धेरै काम पूरा गरेकाले अब बाँकी विषय नेताहरूले टुङ्गो लगाउने बताए । कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा प्रधानमन्त्री देउवाले ‘सबै मिलेर विवाद समाधान गरेर जाऔँ, म भदौ १६ गते नै महाधिवेशनको उद्घाटन गर्न चाहन्छु,’ भनेका छन् । प्रधानमन्त्री बैठकबाट बाहिरिए पनि अन्य नेताहरू लामो समयसम्म बैठकमा व्यस्त रहे । डा. प्रकाशशरण महत सभापति देउवा र केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल नेता पौडेलको सहयोगीका रूपमा उपस्थित थिए । साथै क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखक बैठकमा सहभागी थिए ।

यसैबीच समायोजनसम्बन्धी कार्य पनि बाँकी रहेकाले उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समायोजन समितिमा उपसभापति विजयकुमार गच्छदार, डा. प्रकाशशरण महत, दीपक गिरी, दिलेन्द्रप्रसाद बडूसहितको बैठक पनि शुक्रबार लामो समयसम्म बसेको जानकारी मुख्य सचिव पौडेलले दिए । यी दुवै समितिको बैठक शनिवार १२ बजे पुनः बस्ने छ । समयोजनको काम नसिकिँदा क्रियाशील सदस्यताको विवाद समाधान हुन समस्या भएको हो ।

नेपाली कांग्रेसमा विवाद बाँकी रहेका जिल्लाको क्रियाशील सदस्यताको समस्या समाधानका लागि नयाँ मापदण्ड बनाइने भएको छ । नयाँ मापदण्ड बनाएर क्रियाशील सदस्यताको विवाद मिलाउने सहमतिमा पार्टीका शीर्ष नेताहरू पुगेका छन् ।
नेताहरूले यही साउन १९ गतेभित्र क्रियाशील सदस्यताको बाँकी जिल्लाको टुङ्गो लगाउने छन् । यसअघि बिहीबार बसेको पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले पाँच दिनभित्र विवादको टुङ्गो लगाउने जिम्मेवारी पार्टीको शीर्ष नेतृत्वलाई दिने निर्णय गरेको थियो ।

नयाँ कार्यतालिका आउने

यसैबीच पार्टीमा क्रियाशील सदस्यताको अन्तिम किनारा लागेपछि मात्रै विभिन्न तहको संशोधित कार्यतालिका सार्वजनिक गरिने भएको छ । शीर्ष नेताहरूले साउन १९ गतेसम्म विवाद भएका जिल्लाको समस्या समाधान गरेपछि मात्र नयाँ कार्यतालिका ल्याउने सम्भावना रहेको औँल्याइएको छ ।

अब कार्यतालिका संशोधन गर्नु नपर्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गर्नुपर्ने कुरा पार्टीको बैठकमा नेताहरूले उठाएका छन् । कांग्रेसले साउन १२ गतेका लागि तय गरेको वडास्तरको अधिवेशन स्थगित गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।
साउन १६ गते पार्टीको ७५३ वटै स्थानीय तह (गाउँपालिका र नगरपालिका स्तर) को अधिवेशन तय गरिए पनि अब त्योसमेत रोकिने निश्चित भएको छ ।

विवाद नेताको जिम्मामा

पार्टीका शीर्ष नेताहरूले अब प्रदेश २ का चारवटा र बागमती प्रदेशका दुईवटा जिल्ला गरी छवटा जिल्लाको विवाद मिलाउन नयाँ मापदण्ड बनाउनुपर्नेछ । बारा र सप्तरी जिल्लामा नयाँ क्रियाशील सदस्यताको विवाद सिर्जना भएपछि सदस्यता छानबिन गर्न गठित केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको समितिले छानबिन नै नगरी शीर्ष नेतृत्वलाई नै विवाद मिलाउन जिम्मेवारी सुम्पेको थियो ।

नयाँ क्रियाशील सदस्यताको विषयमा सदस्यता छानविन समितिका पदाधिकारीकै बीचमा फरक मत आएपछि शीर्ष नेतालाई नै मिलाउने जिम्मेवारी दिइएको छ ।
छानबिन समितिमा केन्द्रीय सदस्य कल्याण गुरुङले फरक मत दर्ज गर्नुभएको थियो । यी दुई जिल्लाबाट क्रियाशील सदस्यताको सूची पनि ढिला प्राप्त भएको जनाइएको छ । धनुषा र सर्लाहीमा क्रियाशील सदस्यताको नवीकरणसम्बन्धी विवाद छ ।

सिन्धुपाल्चोक र रसुवामा नवीकरण र पार्टी समायोजनपछिको नयाँ सदस्यतासम्बन्धी विवाद रहेको जानकारी नेताहरूले दिएका छन् । काँग्रेसको १४औँ महाधिवेशन आउँदो भदौ १६ देखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय पार्टीले यसअघि नै गरिसकेको छ ।

यो समाचार गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?