टोकियो ओलम्पिक: जेभेरेभद्वारा जोकोभिच पराजित, गोल्डेन स्ल्यामको सपना अधुरो

काठमाडौं। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष टेनिसतर्फ विश्व नम्बर १ नोभाक जोकोभिच बाहिरिएका छन्।

शुक्रवार खेलिएको सेमी फाइनल खेल अन्तर्गत विश्व नम्बर १ जोकोभिचले जर्मनीका एलेक्जेन्डर जेभेरेभसँग ६-१, ३-६ र १-६ को सेटमा पराजय भोगेका हुन्। २० पटकको ग्रान्ड स्ल्याम विजेता जोकोभिचले पहिलो सेटमा शानदार शुरुवात गरेका थिए।

तर खेलका पछिल्ला दुई सेटमा आफ्नो नियन्त्रण गुमाउँदा जेभेरेभले बाजी मारेका हुन्। स्वर्ण पदकको दावेदार मानिएका सर्बियन सुपरस्टार जोकोभिचको यात्रा सेमी फाइनलबाटै टुंगिएको छ।

यसै वर्ष अष्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बेल्डन गरी ३ ग्रान्ड स्ल्याम उपाधि उचालेका जोकोभिच ओलम्पिकमा पनि स्वर्ण पदकको दाउमा थिए। ओलम्पिकमा स्वर्ण पदक जित्दै उनी आफ्नो गोल्डेन स्ल्याम जित्ने चाहना जिउँदै राख्न चाहन्थे।

जोकोभिचले ओलम्पिकमा स्वर्ण पदक र यसै वर्ष आयोजना हुने युएस ओपन उपाधि जितेको अवस्थामा उनी गोल्डेन स्ल्याम विजेता बन्ने थिए। रोजर फेडेरर र रफायल नाडालले प्रतिस्पर्धा नगर्दा जोकोभिचको स्वर्ण पदक यात्रा सहज हुने अपेक्षा गरिएको थियो।

यस जितसँगै जेभेरेभको ओलम्पिक स्वर्ण यात्राले एक पाइला अगाडि सारेको छ। उनले फाइनलमा रसियन ओलम्पिक कमिटीका करेन खाचानोभसँग प्रतिस्पर्धा गर्नेछन्। खाचानोभले अर्को सेमी फाइनलमा स्पेनका पाब्लो कारेनो बुस्टालाई पराजित गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?