अर्थमन्त्री र चिनियाँ राजदुतबीच भेट, चीनले थप १६ लाख खोप दिने

लोकपथ
112
Shares

काठमाडौं । नेपालका लागि चिनियाँ राजदुत होउ याङछीले अर्थमन्त्री जनार्दन शर्मासँग शिष्टाचार भेट गरेकी छन् । शुक्रवार मन्त्रालयमा भएको भेटमा अर्थमन्त्री शर्माले कोरोना महामारी र भूकम्पछिको पुर्ननिर्माणमा प्राप्त भएको चिनियाँ सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनियाँ सहयोग र सदभाव निरन्तर रहने विश्वास व्यक्त गरे ।

मन्त्री शर्माले कोरोनाविरुद्ध जनतालाई खोप लगाउनु सरकारको प्राथमिकताको काम भएको भन्दै चीनले १८ लाख डोज खोप अनुदानमा दिएकोमा आभार प्रकट गरे । उनले चीनबाट थप खोप खरिदको लागि प्रक्रिया अघि बढाइएकोले त्यस कार्यमा राजदुतबाट सहयोग र सहजीकरण हुने विश्वास व्यक्त गरे ।

मन्त्री शर्माले चिनियाँ सहयोगमा नेपालमा संचालित विभिन्न आयोजनाहरुको कार्यन्वयनमा अनुगमन गरी देखिएका समस्या समाधान गर्न र कार्यसम्पन्न गर्न सरकारको तर्फबाट तदारुकता रहने प्रतिवद्धता व्यक्त गरे । उनले चिनियाँ लगानीमा अघि बढिरहेका सडक, जलविद्युत, विमानस्थललगायतका निर्माणाधिन परियोजनाहरु सम्पन्न गर्नको लागि नेपाल सरकारले गर्नुपर्ने कामहरुको सम्बन्धमा गम्भीरतापूर्वक ध्यान दिने बताए ।

भेटको क्रममा चिनियाँ राजदुत होउले नवनियुक्त अर्थमन्त्री शर्मालाई बधाई दिँदै जुनसुकै सरकार आएपनि नेपाललाई हेर्ने चिनियाँ नीति र दृष्टिकोणमा परिवर्तन नआउने धारणा व्यक्त गरिन् । चिनियाँ जनता र त्यहाँको कम्युनिष्ट पार्टीसँग नेपाली जनता तथा यहाँका राजनीतिक दलहरुको राम्रो सम्बन्ध रहेको चर्चा गर्दै राजदुत होउले कोरोना महामारीविरुद्धको लडाईंमा आफूहरु नेपालको साथमा रहँदै आएको बताइन् ।

चीनले यसअघि नै नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिईसकेको र थप १६ लाख डोज अनुदानको खोप पनि चाँडै प्राप्त गर्ने जानकारी दिइन् ।

यस्तै भुकम्पपछिको पुनःनिर्माणमा पनि चीनले नेपालमा विभिन्न २५ वटा परियोजनाहरुको पुनःनिर्माणमा सहयोग गरेको र आधाजसो काम सकिएको उल्लेख गर्दै उनले दरबार हाइस्कुलको पुननिर्माण सकिएको, वसन्तपुरको नौ तले दरबारको काम सकिन लागेको र बाँकी रहेका अन्य परियोजनाहरुको काम पनि चाँडै सम्पन्न गरिने विश्वास दिलाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?