चिनियाँ अर्बपतिलाई १८ वर्षको जेल सजाय

लोकपथ
156
Shares

काठमाडौं । चीनले प्रमुख उद्योगपतिहरूलाई दण्डित गर्ने पछिल्लो कदमअन्तर्गत हक्की स्वभावका एक प्रसिद्ध अर्बपतिलाई १८ वर्षका लागि जेलसजाय गरेको छ।

चीनमा मानव अधिकार र अन्य संवेदनशील राजनीतिक विषयमा अभिव्यक्ति दिने सन डउ अर्बपतिलाई १८ वर्षको जेल सजाय सुनाइएको हो । अर्बपति डउमाथि विवाद सिर्जना गर्न खोजेको र विषयलाई भड्काउने प्रयास गरेको आरोप लगाइएको थियो ।

चीनमा प्रजातन्त्र र मानव अधिकारको वकालत गर्ने व्यक्तिहरुलाई सोही मुद्दा लगाइने गरेको बताइन्छ । यसमा डउ पनि दोषी पाइएका हुन् । उनलाई गत वर्ष पक्राउ गरिएको थियो । सरकारी कम्पनीसँगको जमिनको विवादमा डउसहित २० आफन्त र व्यावसायिक साझेदारहरु पक्राउ परेका थिए ।

डउले उत्तरी हेबेई प्रान्तमा रहेको देशका सबैभन्दा ठूलामध्ये एक निजी कृषि व्यवसाय सञ्चालन गर्दै आएका छन्। डउको कम्पनीले चीनमा मासु प्रशोधनदेखि स्कुल तथा अस्पताल पनि सञ्चालन गर्दै आएको छ ।

६७ वर्षीय डउमाथि अवैध रुपमा कृषि फार्मको जमिन हडपेको, राज्यका निकायमाथि आक्रमण गर्न भीड जम्मा गरेको र सरकारी कर्मचारीलाई आफ्नो काम गर्न नदिएको जस्ता आरोप पनि लगाइएको छ । उनलाई ३१ लाख १० हजार युआन बराबरको जरिवाना पनि गरिएको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएफपीका अनुसार पक्राउ पर्दा उनले यो विवादमा प्रहरीसँग भएको झडपमा आफ्ना दर्जनौं कर्मचारी घाइते भएको बताएका थिए । डउले यसअघि पनि सरकारी नीतिको आलोचना गर्दै आएका थिए । यसअघि सन् २००३ मा पनि उनी अवैध सहयोग उठाएको आरोपमा पक्राउ परेका थिए । तर आम मानिसहरुको सहयोग र व्यापक विरोधपछि उनी छुटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?