टोकियो ओलम्पिक: नेपालको ओलम्पिक यात्रा समाप्त, सरस्वती पहिलो चरणबाटै बाहिरिइन्

काठमाडौं। जारी टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला १०० मीटर दौड विधामा नेपालकी सरस्वती चौधरीले औसत प्रदर्शन गरेकी छिन्।

टोकियो ओलम्पिक स्टेडियममा शुक्रवार बिहान भएको स्पर्धामा सरस्वतीले हिट २ मा रहेर प्रतिस्पर्धा गरेकी थिइन्। ९ प्रतिस्पर्धी रहेका हिट २ सरस्वतीले १२.९१ सेकेन्ड लगाएर पूरा गरेकी थिइन्।

यसै स्पर्धामा सरस्वतीको उत्कृष्ट समय १२.५५ सेकेन्डको रहेको थियो। सरस्वतीले आफ्नै प्रदर्शनमा पनि सुधार गर्न नसक्दा उनी ८औं स्थानमा रहन सफल भइन्। हिट २ विजेता इरानकी फसिही फर्जेनाहले ११.७६ सेकेन्डमा दौड पूरा गरेकी थिइन्।

लेन २ मा रहेर प्रतिस्पर्धा गरेकी सरस्वतीले साउदी अरेबियाकी यासमिन अल्दाबाघलाई पराजित गर्न सफल भएकी थिइन्। प्रतिस्पर्धामा सरस्वतीको रियाक्सन समय ०.१५८ रहेको थियो।

सरस्वती बाहिरिएसँगै नेपालको टोकियो ओलम्पिक यात्रामा पूर्णविराम लागेको छ। नेपालका ५ खेलाडीले ४ विधामा प्रतिस्पर्धा गरेका थिए। जसमध्ये सबै खेलाडी पहिलो चरणबाटै बाहिरिने पुगे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?