प्रदिप पौडेल भन्छन्- ‘विकल्प खोज्नु जरुरी छैन, महाधिवेशन सम्भव छ’

लोकपथ
507
Shares

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले कुनै पनि हालतमा पार्टीको १४ औँ महाधिवेशन नसर्ने बताएका छन् ।

आज पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै नेता पौडेलले अधिवेशनको तयारी धेरै भइसकेको बताए ।

पार्टी महाधिवेशनबारे ‘नोट अफ डिसेन्ट’ लेख्ने नेताहरुको कुरालाई समेत ध्यानमा राखेरै महाधिवेशन तोकिएकै मितिमा सम्भव हुने नेता पौडेलको जिकिर छ ।

‘विशेष अधिवेशनको विषय या अधिवेशन नगरि अरु विकल्पा खोजिने विषय त यो सँग सम्बन्धित नै भएन । विशेष अधिवेशनको कुरा गर्ने हो या अधिवेशन नै नगरिकन अरु कुरा गर्ने हो भने त क्रियाशील सदस्यता छानविन नै गर्नु पर्दैनथ्यो ।’ नेता पौडेलले भने ।

कांग्रेस क्रियाशील सदस्यता छानविन समितिका सदस्य समेत रहेका नेता पौडेलले क्रियाशील सदस्यताको कामहरु धेरै अघि बढिसकेको बताउँदै महाविधेशन सम्भव रहेको प्रष्ट पारे ।

नेता पौडेलले सञ्चारकर्मीहरुसँग भने- ‘क्रियाशील सदस्यता अधिवेशनको मुल विषय हो । त्यो महत्वपूर्ण विषयको अधिकांस कामहरु सम्पन्न भैसकेको छ । यो स्थितीमा अब अधिवेशन गर्नका लागि धेरै समस्या हुँदैन । अब कुनै एउटा वडा बाँकी छ । कति मान्छेले क्रियाशील पाएन । क्षेत्रिय प्रतिनिधि जित्ने भएन भनेर अधिवेशन नै नगर्ने ?’

अहिलेको समयमा महाविधेशन सार्ने भन्दा पनि महाधिवेशनलाई सम्भव बनाउने तर्फ जानुपर्नेमा नेता पौडेलले जोड दिएका छन् ।

‘अब अरु कुनै कुरा भन्दा महत्वपूर्ण कुरा भनेको अधिवेशन हो । अधिवेशन सम्पन्न गर्ने एउटा वातावरण बनिसकेपछि पनि विकल्प खोजिन्छ भने त्यो कुरा स्वभाविक हुन सक्दैन । हामीले त विकल्प खोज्नेकुरा उपयुक्त होइन अधिवेशन नै सम्भव छ भनेर काम गरेको होनी । अब यति काम भइसकेपछि अधिवेशन सम्भव छ । विशेष या अरु विकल्पको बाटो नगइकन अब अधिवेशनको बाटो जानुपर्दछ ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?