आफ्नाहरूबाटै बेचिन्छन् हजारौँ चेली : नेपालमा मानव बेचबिखनको तथ्यांक डरलाग्दो

अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस

आज ३० जुलाई अर्थात् अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस । २१औँ शताब्दीमा मानिसले मानिसलाई नै बेचबिखन गर्नेजस्तो घृणित कार्य मौलाउँदै जानु चिन्ताको विषय हो । संसारभर हुने अपराधहरूमध्ये मानव बेचबिखन दोस्रो ठूलो अपराधका रूपमा चिनिने गरेको छ । प्रतिवर्ष ४२ बिलियन डलरबराबरको कारोबार मानव बेचबिखनजस्तो अपराधबाट हुनेगरेको अनुसन्धान र खोजबाट पत्ता लागेको छ ।

मानव प्राणीहरूमा सबैभन्दा सर्वश्रेष्ठ प्राणी हो । तर मानवको नै बेचबिखन हुनु लज्जाको विषय हो ।

नेपालमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी कानुन नभएका भने होइनन् । तर कानुनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा समाजमा मानव बेचबिखनका घटनाहरू बढेको देख्न सकिन्छ ।

मानव बेचबिखन एउटा यस्तो अपराध हो, जसले माहिला, बालबालिका र थुप्रै पुरुषहरूलाई समेत श्रम, यौनजस्ता गलत कार्यहरूमा जबरजस्ती संलग्न गराउँछ । महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौन क्रियाकलाप वा मनोरञ्जन उद्योगमा लगाउनेजस्ता कार्यलाई मात्र मानव बेचबिखनको परिभाषामा समेटिने गरिएको छ ।

तर, पछिल्लो समय मानव बेचबिखनको परिभाषामा नयाँ तरिका थपिएको छ । नेपालबाट अमेरिका वा युरोपका विभिन्न देशहरूमा पठाउने भन्दै देशका युवाहरू मानव बेचबिखनको सिकार भइरहेका छन् । धेरै युवाहरू अमेरिका वा युरोपका विभिन्न देशहरूमा जाने प्रलोभनमा आफ्नो ज्यानको बाजी लगाउन तयार हुन्छन् ।

***

केही समयअघि मात्रै अमेरिका जान भनेर हिँडेका ७ जना नेपालीहरू क्यारेबियन सागरमा डुंगा दुर्घटनामा परेर बेपत्ता भएका थिए । विभिन्न एजेन्टबाट धेरै देश हुँदै कोलम्बिया पुगेका ८ नेपाली असार ५ गते निकोक्लीबाट डुंगा चढेर कपुरगाना जाने क्रममा दुर्घटनामा परेका थिए ।

मानव बेचबिखन त छँदै छ पछिल्लो समय युवाहरू यसरी एजेन्टमार्फत गैरकानुनी रूपमा विभिन्न देशमा जाने क्रम बढेको छ । ५० लाखसम्म एजेन्टलाई बुझाएपछि अमेरिका वा अन्य मुलुकहरूमा पुग्ने प्रलोभनमा धेरै जना ठगको सिकार हुनपुगेका छन् ।

अनकन्टार वनको बाटो, गाडी, डुंगा र पैदल हिँड्दै उनीहरू महिनौँ लगाएर अमेरिका पुग्ने र अमेरिका पुगेपछि त्यहाँबाट डिपोर्ट हुनुपरेका धेरै घटनाहरू छन् । यस्तोमा सम्बन्धित निकायको ध्यान पुग्न जरुरी देखिन्छ ।

मानव बेचविखनविरुद्ध नेपालमा काम गर्दै आइरहेको संस्था माइती नेपालले हालसम्म ५० हजारभन्दा बढी महिला तथा बालबालिकाको उद्धार गरेको माइती नेपाल संस्थाका उपनिर्देशक एवं सूचना अधिकारी अच्यूतकुमार नेपालले जानकारी दिए ।

उनका अनुसार गत आवमा मात्रै ४५ सय महिला तथा बालबालिकालाई देशका विभिन्न सीमावर्ती क्षेत्रबाट उद्धार गरिएको छ । उद्धार गरिएका ४५ सय जना महिला तथा बालबालिकामध्ये २५ सयलाई माइती नेपालले आवासको समेत व्यवस्था गरेको छ ।

त्यस्तै गत आवमा २५ जना श्रीलंकाबाट ७५ जना भारतबाट र अन्य विभिन्न देशहरूबाट १५ जनालाई उद्धार गरी ल्याइएको सूचना अधिकारी नेपालले जानकारी दिए ।

मानव बेचबिखन कम गर्न माइती नेपालका उप निर्देशक अच्यूतकुमार नेपालले सुझाएका तरिका :

मानव बेचबिखनका कारण :

अशिक्षा, गरिबी, घरेलु हिंसा, जनचेतनाको कमी आदिजस्ता कारणले हालसम्म पनि मानव बेचबिखनको जालो तोडिन सकेको छैन ।

अरु धेरै कारणहरू भए पनि यी ४ कारण नै मानव बेचबिखनका प्रमुख कारणका रूपमा देखिने गरेका छन् । अशिक्षाका कारण प्रलोभनमा परेर, गरिबीबाट कोल्टे फेर्ने आशमा पनि धेरै चेली अनि पुरुष समेत विदेशिने सपना देख्ने गर्दछन् । परिणामस्वरूप उनीहरू मानव बेचबिखनको सिकार हुनेगरेका छन् ।

घरेलु हिंसा मानव बेचबिखनको अर्को कारक तत्व हो । घर परिवारबाट हेला गर्ने, कुटपिट गर्ने र छोराछोरी लिएर अलग बस्ने बाध्यता भएका महिलाहरू प्रायः अवसरको खोजीमा रहेका हुन्छन् । कसैले प्रलोभन देखाए त्यसमा उनीहरू छिटै परिहाल्ने सम्भावना हुन्छ ।

मानव बेचबिखनका चुनौती :

मानव बेचबिखनका चुनौतीहरू पनि उत्तिकै रहेका छन् । बेचिने व्यक्तिलाई आफू बेचिँदै छु भन्ने जानकारी हुँदैन । कतिपय अवस्थामा विवाहको नाटक गरी बेच्न लगिएका महिलाहरू सीमा क्षेत्रमा मानव बेचबिखनविरुद्धमा काम गर्ने संस्थाहरूले उद्धार गरेका धेरै उदाहरणहरू छन् । बालबालिका, महिला, पुरुष सबै बेचिन सक्ने भएकाले पनि पहिचानमा निकै समस्या हुनेगरेको छ । स्वदशमै वा वैदेशिक रोजगारीको प्रलोभन देखाई बेचिने भएको हुँदा पहिचान गर्न कठिन हुनेगरेको हो ।

कसरी जोगिने ?

जनचेतना नै मानव बेचबिखन रोक्ने मुख्य उपाय हो । समाजमा बेचबिखनका बारेमा चेतना फैलाउन जरुरी छ । विद्यालयमा पनि बालबालिकाहरूलाई पाठ्यपुस्तकमा मानव बेचबिखनका कारण र उपायहरू समावेश गरेर आफू कसरी बच्ने र अरुलाई पनि कसरी बचाउने भन्ने कुरा सिकाउन जरुरी छ ।

यसैगरी सामूहिक रूपमा मानव बेचबिखनको जोखिममा रहेका समुदाय र क्षेत्र पहिचान गरी मानव बेचबिखन रोकथामका लागि अन्तरक्रिया, सडक नाटक, ¥याली, घरदैलोजस्ता कार्यक्रमहरूले पनि यसलाई रोक्न सकिन्छ ।

संसारले प्रगतिमा यति ठूलो फड्को मारिसक्दा पनि हामी भने मानव बेचबिखनजस्तो समस्यामा अल्झिरहनुपरेको छ । यसलाई रोक्न सरकार र सम्बन्धित निकाय अझ बढी सक्रिय हुन जरुरी छ । मूलतः भारतीय सीमा नाकाहरूबाट यस्ता घटनाहरू बढी मात्रामा हुनेभएकाले मानव बेचबिखनविरुद्ध काम गर्ने संघसंस्था र नागरिक समाजसँग मिलेर सीमा क्षेत्रमा निगरानी बढाउन जरुरी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?