पाल्पा । बिहिवार बिहान ७ बजेबाट सुरु हुने कक्षा ११ को परीक्षा दिन हतार–हतार गरेर रामपुर नगरपालिका वडा नं ७ बस्ने सबिना राना रामतुलसी माविमा पुगिन् । उनी परीक्षा सुरु हुने समयभन्दा आधा घण्टा अगावै विद्यालयको प्रवेशद्वार बाहिर परीक्षा दिनको लागि तयारीका साथ बसेकी थिइन्।
पहिलो दिन अनिवार्य अंग्रेजी विषय भएको हुँदा आफुले पढेका प्रश्न आउँलान् कि कस्ता खालका प्रश्न आउँलान्, सबै प्रश्नको उत्तर दिन सकिएला नसकिएला यस्तै–यस्तै मनभित्र करिब २० मिनेट कुरा खेलाउँदै विद्यालयको प्रवेशद्वारा बाहिर बसिरहिन् । केहीबेरमा विद्यालयको प्रवेशद्वारमा शिक्षक आएर परीक्षा नहुने भन्ने जानकारी गराएपछि उनी निराश हुँदै घर फर्कन बाध्य भइन्।
‘पहिलो दिन अंग्रेजी विषयको परीक्षा अरु विषय भन्दा दुख हुने हुँदा तयारी राम्रै गरेर गरेको थिए, बिहानै घरबाट करिब आधा घण्टाको पैदल हिँडेर हतार–हतार विद्यालय पुगे, परीक्षा नहुने खबर पाउँदा दुख लाग्यो, परीक्षाका लागि धेरै समय खर्चेर तयारी गरेको थिए’, उनले निराश हुँदै भनिन् ।
परीक्षा दिँदा आफुलाई आवश्यक पर्ने सबै शैक्षिक सामग्रीका साथ सिर्जना रेग्मी पनि परीक्षा सुरु हुने समयभन्दा आधा घण्टा अगावै विद्यालय पुगिन् । अंग्रेजी विषय भएकाले तयारीका साथ परीक्षा दिन उत्साहित हुँदै उहाँ विद्यालमा परीक्षाको समय पर्खेर बसिरहिन्। केही समय पछाडी परीक्षा हुन्न भन्ने खबर पाएपछि भने निराश हुँदै घरतर्फ लागिन्।
उनी भन्छिन्, ‘विद्यालय गएर पढ्न नपाए पनि घरमै बसेर तयारी राम्रै गरेको थिए, परीक्षा नै बन्द गरेर शिक्षक आन्दोलनमा उत्रदा हामी विद्यार्थीलाई असर पर्यो, स्थगित भएको परीक्षा कहिले हुने हो टुङ्गो छैन, विद्यार्थीको पढ्ने मनस्थिती नै खलबलियो ।’
संयुक्त शिक्षक संघर्ष समिति पाल्पाले कोरोनाविरुद्धको खोप नलगाउँदासम्मका लागि साउन १४ गतेदेखि जिल्लाभरका सबै शैक्षिक संस्थामा सञ्चालन भइरहेको सम्पूर्ण शैक्षिक गतिबिधि बन्द गर्ने निर्णय गरेपछि तय भएको कक्षा ११ को परीक्षा पनि स्थगन भएको हो ।
कोरोनाविरुद्ध खोप लगाउन सम्बन्धित निकायले शिक्षकलाई उपेक्षा गरेको र राज्यले तोकेको उमेर समूह बाहेक सबै शिक्षकलाई खोप उपलब्ध नहुँदासम्म आन्दोलनमा उत्रने नेपाल शिक्षक महासङ्घका अध्यक्ष धनकला गाहाले बताइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया