हातहतियार देखाइ चोरी गर्न खोज्ने छ जना पक्राउ

लोकपथ
234
Shares

मोरङ । मोरङको सुन्दरहरैंचा–१० त्रिवेणी चोकस्थित खगेन्द्र थापाको शिव पञ्चायन ज्वेलर्समा हातहतियार देखाइ चोरी डकैतीको प्रयास गरेको आरोपमा छ जनालाई प्रहरीले पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो । यही साउन १ गते एसएमजीलगायत हातहतियार देखाएर सात जनाको समूहले उक्त ज्वेलर्स लुटपाटको प्रयास गरे पनि असफल भएर फरार भएकामध्ये छ जनालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सङ्खुवासभाको सभापोखरी – ४ घर भई सुनसरीको इटहरी उपमहानगरपालिका – २० बस्ने ३९ वर्षीय प्रकाश भन्ने चन्द्रबहादुर राई, सुनसरीको गढी गाउँपालिका – १ का ४५ वर्षीय डाइमण्ड भन्ने प्रमोद चौधरी, सङ्खुवासभा सभापोखरी गाउँपालिका – ६ बाह्रबिसे घर भई हाल इटहरी – २० बस्ने ३० वर्षीय चिरञ्जीवी राई, मोरङको सुन्दरहरैंचा नगरपालिका – ५ का २२ वर्षीय मिशन राई, भोजपुरको पौवादुम्मा गाउँपालिका – ३ घर भई इटहरी – २० मा डेरा गरी बस्ने ३० वर्षीय नगेन्द्र राई र मोरङको सुन्दरहरैंचा – ७ का ३१ वर्षीय सन्तोष राई रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख  एवं प्रहरी उपरीक्षक जनार्दन जिसी जानकारी दिए ।

पक्राउ परेकामध्ये चन्द्रबहादुर र प्रमोद घटनाको मुख्य योजनाकारका रुपमा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनको भनाइ छ । प्रहरीले रुखको टोड्का लुकाएका हतियार एमएमजी, त्यसको म्याग्जिन एक थान र गोली ६२ राउण्ड, अटोमेटिक पेस्तोल एक थान र त्यसको गोली दुई राउण्ड, कटुवा पेस्तोल एक थान, त्यसमा समेत लाग्ने थ्रीनटथ्री राइफलको गोली चार राउण्ड र दुईथान सञ्चार सेट बरामद गरिएको मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

प्रहरीले लुटपाटमा प्रयोग गरिएको छ थान मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ परेकाविरुद्ध चोरी डकैती र हातहतियार तथा खरखजना महलअन्तर्गत कानूनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?