जसपा सरकारमा जान केही दिन लाग्ने

लोकपथ
247
Shares
Upendra Yadav

काठमाडौं । सत्ता साझेदार जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुन अझै केही दिन लाग्ने स्पष्ट पारेको छ ।

पार्टीको बुधवार ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सैद्धान्तिक छलफल सूरु गर्दै सरकारमा सहभागी हुन अझै केही दिन लाग्ने निष्कर्ष निकालेको हो । बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदैै पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले सरकारमा सहभागी हुन अझैै केही दिन लाग्ने निष्कर्षमा पार्टी पुगेको बताए । उनले भने,“सरकारमा कहिले सामेल हुने ? कसरी सामेल हुने ? के–कस्ता विषयहरुलाई ध्यान दिने ? लगायतका विषयमा आजको बैैठकमा सैद्धान्तिक छलफल गरेका छौं । सरकारमा सामेल हुनेबारे सकारात्मक दृष्टिकोणहरु आएका छन । तर यसबारे अन्तिम निर्णय लिन केही दिन लाग्ने देखिन्छ ।”

बैठकले पार्टीको नियमावली अनुमोदन गरेको छ । त्यसैगरी, पार्टी एकताका लागि नेकपा लोकतान्त्रिक पार्टीको शिवलाल थापा समूह, नेकपा एकीकृत माक्र्सवादी समूहको अमृत पुरी समूह र लिम्वुवान राष्ट्रिय मञ्चका मछिन्द्र बेगा नेतृत्वको समूहसँग गरिएको सहमति पनि बैठकले अनुमोदन गरेको प्रवक्ता खतिवडाले बताए । जसपाले थापालाई पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा, पुरीलाई राजनीतिक समितिमा र बेगालाई केन्दी्रय कार्यसमितिमा मनोनित गर्ने निर्णय पनि गरेको छ ।

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोली बिहीवार पुनः तुलसीलाल स्मृति भवनमा बोलाइएको छ । बैैठकमा सरकारमा सहभागी हुने विषयमा विस्तृत छलफल हुने प्रचार विभाग प्रमुख खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?