धितोपत्र बोर्डमा भएको भ्रष्टाचारबारे अर्थको चासो : डेढ अर्ब हिनामिना गरेको भन्दै कारबाहीमा उत्रियो

लोकपथ
91
Shares

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानासँग स्पष्टीकरण माग्ने भएको छ ।

अध्यक्ष ढुंगानाले पदीय दुरुपयोग गरेर बोर्डमा करोडौँ रुपैयाँ भष्टाचार गरेको भन्दै मन्त्रालयले स्पष्टीकरण सोध्ने तयारी गरेको छ । अध्यक्ष ढुंगाना बोर्डमा आएसँगै विभिन्न समयमा करोडौं रुपैयाँ भ्रष्टाचार गरेको देखिएपछि मन्त्रालयले स्पष्टिकरण सोध्ने तयारी गरेको हो ।

‘‘बोर्डमा भष्टाचार भएको कुरा आएकाले मन्त्रालयले अध्यक्षलाई स्पष्टीकरण सोध्ने तयारी गरेको छ ।’’ मन्त्रालय स्रोतले भन्यो । केही समयअघिदेखि बोर्डका अध्यक्षविरुद्धमा भ्रष्टाचारका विभिन्न कुरा उठिरहेकाले मन्त्रलयले चासो राखेको स्रोतको भनाइ छ ।

अध्यक्ष ढुंगानाले विभिन्न बहानामा भ्रष्टाचार गरेको तथा आफन्त र साथीभाइको नाममा सेयर किन्ने गरेको पाइएपछि अर्थमन्त्रालयले चासो देखाएको स्रोतको दाबी छ ।

कति भयो भ्रष्टाचार ?

अध्यक्ष ढुंगानाले १ अर्ब ३८ करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अुनसन्धान आयोगमा उजुरी परेको थियो । उनले गत असार १ गते लगानीकर्ताको लगानी जोखिममा भएको भन्दै विभिन्न ५१ वटा कम्पनीहरुको नाम सार्वजनिक गरेका थिए । ती कम्पनीहरुले लगानीकर्ताको लगानीमाथि खेलवाड गरेको भन्दै ती कम्पनीहरुलाई कारबाही गरिछाड्ने उनले बताएका थिए । अध्यक्ष ढुंगानाले मोटो रकम कमिसन लिएर ती ५१ वटा कम्पनीहरुको नाम सार्वजनिक गरेको फेला परेको छ । उनले सेयरका ठूला लगानीकर्तासँग ३५ करोड रुपैँया उठाएको दबी उजुरीमा गरिएको छ । उनले पदीय मर्यादा मिच्दै ठूला लगानीकर्तासँग मोटो रकम लिएर साना लगानीकर्तालाई तर्साउन खोजेको आरोप लगाइएको छ । सो रकममध्ये ढुंगानाले केही रकम ससुरालीका नाममा त केही रकम साथीभाइका नाममा सेयर खरिद गरेको दाबी गरिएको छ । त्यस्तै,बैंकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्स रोक्न पनि ठूलो रकम भ्रष्टाचार गरेको खुलेको छ । अहिले बजारमा ५० वटा ब्रोकर कम्पनी संचालनमा छन् । ती ब्रोकर कम्पनीहरु प्रत्येकबाट २ करोडका दरले १ अर्ब रुपैँया कमिसन खाएका थिए ।

बैंकका भगिनी कम्पनीलाई ब्रोकर लाइसेन्स दिनुपर्छ भनेर लामो समयदेखि बहस चल्दै आएको छ । लामो समय बहस भएपछि अर्थसमितिले सांसद रामकुमारी झांक्रीको नेतृत्वमा उपसमिति बनाएर सेयर बजारका विषयमा अध्ययन समेत गरेको थियो । सो उपसमितिले बैंकका भगिनी कम्पनीहरुलाई ब्रोकरको लाइसेन्स दिन हुने सुझाव समेत दिएको थियो भने अर्थमन्त्रालयले पनि अनुमति दिएको थियो । तर अध्यक्ष ढुंगानाले कमिसनको खेलमा बैंकका भगिनी कम्पनीलाई दिने भनिएको ब्रोकरको लाइसेन्स रोकेको उजुरीमा दाबी गरिएको छ । त्यस्तै, अजोड इन्स्योरेन्स कम्पनीमा भित्री कारोबार भएको समयमा ३ करोड घुस लिएको खुलेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरी नम्बर सी–०३५०७४/२०७८–३–२ मा यी कुरा उल्लेख छन् ।

त्यस्तै, उनले सार्वजनिक गरिएका कम्पनीहरुमा भएका आफन्तका सेयर पनि बेच्न लगाएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?