गुल्मी जीप दुर्घटना अपडेट : मृतक २ जनाको पहिचान खुल्यो, घाइतेमध्ये एकको अवस्था गम्भीर

लोकपथ
329
Shares

काठमाडौं । गुल्मीको मुसीकोटमा जीप दुर्घटना मृत्यु भएका ३ जना मध्ये २ जनाको पहिचान खुलेको छ । मृत्यु हुनेमा चन्द्रकोट-४ का तेजेन्द्र थापा र चन्द्रकोट-५ का रेशम कार्की रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक डीएसपी पुरुषोत्तम प्रसाद पाण्डेले लाकपथलाई जानकारी दिए ।

डीएसपी पाण्डेका अनुसार अर्को मृतका महिलाको भने हालसम्म पहिचान हुन सकेको छैन ।

जिल्लाको मुसीकोट नगरपालिका वडा नं-४ स्थित दोभानमा आज बुधबार बिहान ११:१५ मा जीप दुर्घटना भएको थियो । दुर्घटनाग्रस्त जीप रोडबाट करिब ४ सय मिटर तल खसेको थियो ।

‘जीपमा १० जना सवार रहेको भन्ने बुझिएको छ । ३ जना मृतकसहित ७ जना घाइतेलाई फेला पारिसकेका छौं । तर जीपमा अरु पनि सवार भएको हुनसक्ने भएकाले घटनास्थलमा खोजी गरिरहेका छौं ।’ डीएसपी पाण्डेले बताए ।

‘घाइते ७ जनामध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । घाइते ७ जनाको उद्धार गरी तम्घास अस्पताल पठाएका छौं ।’ डीएसपी पाण्डेले थपे ।

शान्तिपुरबाट तम्घास जाँदै गरेको जीप दुर्घटनामा परेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?