कांग्रेस केन्द्रीय कार्यालयमा अनशनरत नेता, कार्यकर्ताको अनशन तोडियो

लोकपथ
63
Shares

काठमाडौं । पार्टीको क्रियाशील सदस्यता वितरणमा न्याय गर्न माग गर्दै आएका नेपाली कांग्रेसका नेता, कार्यकर्ताको आमरण अनशन तोडिएको छ ।

१० दिनयता पार्टी केन्द्रिय कार्यालय सानेपामा आमरण अनशन बस्दै आएका पार्टीका केन्द्रिय सदस्य डाक्टर चन्द्रमोहन यादवसहित धनुषा, रौतहट, बारालगायतका नेता, कार्यकर्ताको माग सम्बोधन गर्ने गरी ६ बूँदे सहमति भएपछि मंगलवार अपरान्ह जुस पिएर उनीहरुले आमरण अनशन तोडेका हुन् ।

पार्टीको तर्फबाट उनीहरुको माग सम्बोधन गर्ने ६ बूँदे सहमतिमा नेता डा. रामशरण महत र डा. प्रकाशशरण महतले हस्ताक्षर गरेपछि आफूहरुमाथि न्याय हुने अपेक्षामा साथ आमरण अनशन तोडिएको केन्द्रीय सदस्य यादवले जानकारी दिए । उनले जिल्ला छानवीन समितिको निर्णय अनुसार धनुषा क्षेत्र नम्बर ४ लगायतका तराईका जिल्लाहरुको क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधान हुने विश्वास समेत व्यक्त गरे । उनले भने,“बैठक नै नबसी एकपक्षीय ढंगले क्रियाशील सदस्यता वितरण भएको अवस्था छ । दुवै नेतासँग मेरो अनुरोध छ–एक पक्षीय ढंगले वितरण गरिएको क्रियाशील सदस्यता बदर गरेर जिल्ला छानवीन समितिको निर्णय अनुसार क्रियाशील सदस्यता वितरणका सम्बन्धमा न्याय गर्नु हुनेछ ।”

यता, कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी नेतृत्वले उनीहरुको माग सम्बोधन गर्ने विश्वास व्यक्त गरे । उनले भने, “क्रियाशील सदस्यता वितरणमा उहाँहरुले राख्नु भएको माग पार्टी नेतृत्वले सम्बोधन गरी न्याय गर्नेछ ।”
पार्टीको जिल्ला छानवीन समितिको निर्णय अनुसार क्रियाशील सदस्यता सम्बन्धि विवाद टुंगो नलगाएपछि यादवसहित तराईका विभिन्न जिल्लाका नेताहरु पार्टी केन्द्रीय कार्यालयमा आमरण अनशन बस्दै आएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?