काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)को नयाँ व्यवस्थापनले पुराना कर्मचारीहरुलाई कार्यालय प्रवेशमा रोक लगाएको छ। राजीनामा नदिएको र सरुवा गरेको ठाउँमा नगएको भन्दै अस्पताल प्रशासनले उनीहरुलाई कार्यालय प्रवेशमा रोक लगाएको हो ।
कर्मचारीहरुले भने अस्पतालको कुनै सम्बन्ध नै नभएको ठाउँमा कर्मचारीलाई सरुवा गरेको, सेवासुविधा कटौती गरेको, राजीनामा दिन बाध्य पारेको लगायतका आरोप लगाएका छन् । उनीहरुले कुनै आन्दोलन घोषणा नगरेको तर अस्पताल प्रशासनले काम गर्ने वातावरण नदिए चरणबद्ध आन्दोलन घोषणा गर्ने चेतावनी दिएका छन् । अस्पतालका करिव ५ सय भन्दा बढी कर्मचारी नयाँ ब्यवस्थापनको विरोधमा रहेको उनीहरुले बताएका छन् ।
उनीहरुले कर्मचारीलाई निर्वाधरुपमा कार्यालय प्रवेश गरी काम गर्ने वातावरण मिलाउनुपर्ने, कर्मचारी नियमावली २०६७ मा उल्लेखित सेवा सर्त सुविधा पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने लगायतका माग राखेका छन् । यस्तै ठेक्काप्रथाबाट कर्मचारी नियुक्ति बन्द गर्नुपर्ने, भगेनी संस्थाका नाममा कर्मचारीलाई सरुवा गरी दुःख दिन नपाइने, विगतदेखिको सेवा सुविधालाई निरन्तरता दिनुपर्ने उनीहरुको माग छ ।
कर्मचारीहरुको विरोधलाई स्थानीय क्लवहरुले पनि समर्थन जनाएका छन् । उनीहरुले पनि अस्पतालको नयाँ व्यवस्थापनले स्थानीयको माग सम्वोधन नगरेको बताएका छन् । अस्पतालको पछाडिको ढोका खोल्नुपर्ने, स्थानीय जनतालाई सम्पर्क अधिकारी तोकी आप्mना कुरा सहजरुपले राख्ने वातावरण मिलाउनुपर्ने लगायतको माग स्थानीयको छ ।
कर्मचारीहरुको मागप्रति स्वास्थ्यसँग सम्वन्धित विभिन्न ट्रेड युनियनहरुले पनि ऐक्यवद्धता जनाएका छन् ।
केएमसी अस्पताल अहिले डा. सुनिल शर्माको नेतृत्वमा व्यवस्थापनले संचालन गरिरहेको छ। ब्यवस्थापन पक्षले भने मिडियालाई कुनै प्रतिक्रिया नदिने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया