एलेक्सले रचे नयाँ राष्ट्रिय कीर्तिमान, ५३.४१ सेकेन्डमै गरे हिट पूरा

काठमाडौं। टोकियो ओलम्पिक २०२० अन्तर्गत पुरुष १०० मीटर फ्रि-स्टाइल पौडीतर्फ नेपालका एलेक्जेन्डर (एलेक्स) शाहले नयाँ राष्ट्रिय कीर्तिमान रचेका छन्।

टोकियो एक्वेटिक सेन्टरमा मंगलवार अपरान्ह ३:४५ बजे सम्पन्न प्रतिस्पर्धामा एलेक्सले हिट १ समुहमा ५३.४१ सेकेन्डमा टच पूरा गरेका थिए। छैटौं लेनमा रहेर प्रतिस्पर्धा गरेका एलेक्सले कोसोभोका कोन्डिरोल्ली (दोस्रो) र प्यालेस्टाइनका अल बबाब याजन (तेस्रो)लाई पराजित गरेका हुन्।

एलेक्सले आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको राष्ट्रिय कीर्तिमान तोडेका हुन्। जम्मा ९ हिटमा विभाजन गरिएको प्रारम्भिक चरणमा ७१ खेलाडीले प्रतिस्पर्धा गरेका छन्। एलेक्स सम्मिलित हिट १ मा ७ खेलाडी सम्मिलित थिए भने बाँकी हिटमा ८ खेलाडी उपस्थित रहेका छन्।

७१ मध्ये उत्कृष्ट १६ खेलाडीले मात्रै सेमी फाइनलमा स्थान पाउने भएकाले एलेक्स प्रारम्भिक चरणबाटै बाहिरिएका छन्। यसअघि जुडोकी सोनिया भट्ट र शुटिङकी कल्पना परियार टोकियो ओलम्पिकबाट बाहिरिएर नेपाल फर्किसकेका छन्। महिला पौडी १०० मीटर फ्रि-स्टाइलतर्फ भने भोलि (बुधवार) गौरीका सिंहले प्रतिस्पर्धा गर्नेछिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?