महोत्तरीमा हरित अभियान सुरु : चुरे संरक्षणका लागि तीन लाख बिरुवा रोपिँदै

लोकपथ
13
Shares

जनकपुरधाम । प्रदेश २ को महोत्तरीमा चुरे तथा वातावरण संरक्षणका लागि हरित अभियान सुरु भएको छ ।

जिल्लाको विभिन्न तहमा यस अभियानअन्तर्गत पहिलो चरणमा तीन लाख बिरुवा रोप्ने लक्ष्यसहित हरित अभियान सुरु गरिएको हो ।

खोला किनार, नदी उकास जमिनमा बिरुवा रोपन सुरु गरिएको छ । वन, वातावरण, चुरे संरक्षणका लागि तथा “हरित अभियान” अन्तर्गत तीन महिनाभित्र तीन लाख बिरुवा रोप्ने बृहत वृक्षरोपण कार्यक्रम सुरु भएपछि स्थानीय बगरमा बिरुवा रोप्न पुगेका हुन् । जिल्लाको बर्दिबास, भंगहा र गौशाला गरि ३ वटा नगरपालिकामा झण्डै १२ सय विघा खाली भू–भागमा बिरुवा रोप्न थालिएको हो ।

आँप, लिच्ची, कटहर, अम्बा, बास, जडीबुटी र विभिन्न जातका फलफूल तथा काठ जातका वनस्पत्तिका बिरुवा रोपिन थालिएको छ ।

यस अभियानअन्तर्गत बर्दिवासमा मात्रै ३५ हजार बढि बिरुवा रोपिसकेको बर्दिवास नगरपालिकाका मेयर बिदुर कार्किले बताए ।

भंगाहा ५, बर्दिवास ६ र ७ स्थित रातु खोला किनार र गौशाला १० स्थित मराहा खोला किनारमा सोमबार वृक्षरोपण गरेको छ ।

जिल्ला डिभिजन वन, सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल र अन्य संघ संस्था पनि यो अभियानमा जोडिएका छन् । तीनवटा पालिकामा नगरस्तरीय हरित अभियान परिचालन समिति बनाएर हरित अभियान थालिएको छ ।

यो अभियानका परिकल्पना गरी कार्यान्वयनमा ल्याएका पूर्वशिक्षा तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले यो अभियान सफल पार्न र असल अभ्यास र प्रयासलाई फैलाउन सबैलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?