वेस्ट इन्डिजविरुद्धको एकदिवसीय श्रृंखला अस्ट्रेलियालाई

काठमाडौं। वेस्ट इन्डिज भ्रमणमा रहेको अस्ट्रेलियाले तेस्रो तथा अन्तिम एकदिवसीय खेलमा ६ विकेटको फराकिलो अन्तरको जित निकाल्दै शृंखला २-१ले कब्जा गरेको छ।

ब्रिजटाउनमा गए राती भएको खेलमा घरेलु टोलीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको थियो। वेस्ट इन्डिजका लागि ओपनर एविन लुइसले अविजित ५५ रनको पारी खेल्दा अन्य ब्याट्सम्यान सस्तोमै पाविलियन फर्केका थिए। घरेलु टोलीले जम्मा ४५.१ ओभर खेल्दै १५२ रन बनाउन सफल भएको थियो।

अस्ट्रेलियाका लागि तिब्र गतिका बलर मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिंदा जोश हेजलवुड, एश्टन अगर र एडम जम्पाले समान २-२ विकेट लिन सफल भएका थिए। जवाफी ब्याटिङमा १५३ रनको साधारण लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले ३०.३ ओभरमा मात्र ४ विकेट गुमाउँदै जित दर्ता गर्न सफल भएको थियो। अस्ट्रेलियाका लागि म्याथ्यु वेडले अविजित ५१ रन बनाउन सफल भए।

यस जितसँगै तीन एकदिवसीय खेलको शृंखलामा अस्ट्रेलियाले २-१ को जित दर्ता गरेको छ। खेलमा एश्टन अगर ‘म्यान अफ दि म्याच’ घोषित हुँदा मिचेल स्टार्क ‘म्यान अफ दि सिरिज’ चुनिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?