डियाजले दिलाइन् फिलिपिन्सलाई ओलम्पिककै पहिलो स्वर्ण पदक

काठमाडौं। टोकियो ओलम्पिक २०२० अन्तर्गत फिलिपिन्सकी हिडिलिन डियाजले महिला ५५ केजी भारोत्तोलन प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन्।

डियाजले प्रतिस्पर्धामा चीनकी लियो क्यूयुन र काजकिस्तानकी जुल्फिया चिनशानलोलाई पराजित गर्दै फिलिपिन्सको ओलम्पिक इतिहासकै पहिलो स्वर्ण पदक जितेकी छिन्। क्यूयुनले आफ्नो अन्तिम लिफ्टमा १२६ केजी भार उचाल्दा कुल २२३ केजी तौल उचालेकी थिइन्।

डियाजले भने आफ्नो अन्तिम लिफ्टमा १२७ केजी तौल उचाल्न सफल भइन्। प्रतिस्पर्धामा जम्मा २२४ केजी तौल उचालेकी डियाजले दुई ओलम्पिक रेकर्ड दर्ता गरिन्। उनको अन्तिम लिफ्टको १२७ केजी र जम्मा २२४ केजी तौल दुवै नयाँ ओलम्पिक रेकर्ड भएका छन्।

डियाजले स्वर्ण पदक जित्दा चीनकी क्यूयुनले रजत र काजकिस्तानकी जुल्फिया चिनशानलोले काश्य पदक जित्न सफल भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?