काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले देशको वर्तमान अवस्थालाई ध्यानमा राखेर अर्थतन्त्रमा थप ऊर्जा दिने गरी मौद्रिक नीति ल्याउने गरी चालू आर्थिक वर्षको मौद्रिक नीति तयारी गर्नुपर्ने बताएका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारी र डेपुटी गभर्नरहरूले अर्थतन्त्रको मौजुदा अवस्था र मौद्रिक नीतिको जारी गृहकार्यबारे प्रधानमन्त्रीलाई जानकारी गराए । सो अवसरमा प्रधानमन्त्री देउवाले मौद्रिक नीतिले अर्थतन्त्रले अहिले भोगेको समस्या समाधान गरी थप ऊर्जा प्राप्त गर्ने गरी मौद्रिक नीति ल्याउन जरुरी भएको स्पष्ट पारेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बद्री तिवारीले जानकारी दिए ।
अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको चालू आर्थिक वर्षको बजेट संसद्मा विचाराधीन छ । बजेटका नीति तथा कार्यक्रम पूरा गर्न नेपाल राष्ट्र बैङ्कले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तयारी गरिरहँदा प्रधानमन्त्रीले त्यसबारे जानकारी लिएका हुन् । त्यस अवसरमा प्रधानमन्त्री देउवाले लगानीमैत्री, उद्योगमैत्री, निजी क्षेत्रमैत्री र बैङ्किङ क्षेत्रले उठाएका कुरालाई सम्बोधन गर्ने गरी मौद्रिक नीति ल्याउन आवश्यक रहेको स्पष्ट पारे ।
प्रधानमन्त्री देउवाले देशको अर्थतन्त्रका वास्तविक अवस्थालाई दृष्टिगत गरेर मौद्रिक नीति ल्याउन निर्देशन दिएको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव तिवारीले दिए ।
यसैगरी प्रधानमन्त्री देउवाले लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टबाट लगानी योजनाबारे जानकारी लिए । त्यस अवसरमा प्रधानमन्त्री देउवाले ‘पाइपलाइन’मा के कस्ता योजना छन्, तिनको लगानीका बारेमा के कस्तो प्रगति भइरहेको छ, आगामी दिनमा अगाडि बढ्न के कस्ता परियोजना छन् भनेर जानकारी लिए ।
यसैगरी प्रधानमन्त्रीसँग नेपालस्थित श्रीलङ्काका राजदूत हिमाली अरुणातिलाकाले सोमवार शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबीच द्विपक्षीय सम्बन्ध अझ बलियो बनाउने विषयमा कुराकानी भएको जानकारी प्रधानमन्त्रीको सचिवालयले दिएको छ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया