अलमुताइरी र नेम्वाङको विवाद : प्रशिक्षकले ममाथि षड्यन्त्र गर्नुभयो, प्रमाणित गर्न चुनौती दिन्छु (भिडियोसहित)

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा गर्ने घोषण गरेसँगै नेपाली फुटबल जगतमा तरङ्ग फैलिएको छ । प्रशिक्षक अलमुताइरीले राजीनामाको घोषण मात्र गरेनन् उनले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङको कारण आफूले राजीनामा दिनलागेको समेत बताए । गत चैतमा एक वर्षको लागि नेपालको मुख्य प्रशिक्षकको जिम्मा सम्हालेका अलमुताइरीले ४ महिना नबित्दै एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका नाटकका कारण राजीनामा दिएको बताए ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रिय नेपाली फ्यान ! म राजीनामा दिन एन्फा जाँदै छु । मेरो राजीनामाको कारण एन्फाका वरिष्ठ उपाध्यक्ष हुन्, जसले पछिल्लो तीन हप्ता धेरै नाटक गरेका छन् ।’ ‘मलाई आशा छ, मेरो राजीनामाले अब पंकज नेम्वाङ खुसी हुनेछन् ।’

छोटो समयमा आफ्ना प्रभावशाली प्रशिक्षणका कारण निकै लोकप्रिय बनेका अलमुताइरी र एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङबीचको विवाद के हो ? यही विषयमा केन्द्रित रहेर लोकपथले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङसँग गरेको कुराकानीको संपादित अंश :

गत चैतमा मुख्य प्रशिक्षकको जिम्मा सम्हालेका अलमुताइरीले ४ महिना नबित्दै राजीनामाको घोषण गरे । यो ४ महिनाको यो समय कस्तो रह्यो ?

उहाँले जति गर्नुभयो म उहाँको प्रशंसक नै हो । उहाँले राम्रो काम गर्नुभएको छ । खेलाडीहरूको टिमले राम्रो रिजल्ट ल्याइरहेका छन् । त्यसमा उहाँको महत्वपूर्ण भूमिका रहको छ । मैले उहाँलाई म्यासेन्जरमार्फत बधाई र धन्यवाद भनेको छु ।

तपाईंमाथि त गम्भीर आरोप लागेको छ । तपाईंले त्यस्तो के गर्नुभयो र प्रशिक्षकले राजीनामाको कदम उठाउनुपर्‍यो ?

म आफैँ आश्चर्यमा छु । प्रमुख प्रशिक्षकले मलाई पर्सनल्ली यो मान्छे एन्फाको वरिष्ठ उपाध्यक्ष हो भनेर बिरलै चिन्ला । किनभने उनको र मेरो फर्मल्ली चिनजान छैन । यसको पछाडि षड्यन्त्र भएको मलाई लाग्छ ।

षड्यन्त्र केका लागि ?, प्रशिक्षक आफैँ राजीनामाको क्षणमा छन् । यसमा के षड्यन्त्र हुनसक्छ, चुरो कुरो बताइदिनुस् न ।

एन्फाको विषयमा एन्फाको हकहितामा, नपाली फुटबलको हकहितका लागि मैले पहिल्यैबाट आवाज उठाउँदै आएको हो । भर्खरै यो यू १३ का विषयहरू निस्किए । एन्फाले काट्ने हवाई टिकटका कुरा निस्किए । मैले जेठ ३० गते बैठकको माग गरेको थिएँ तर बैठक बस्न सकेन । फेरि श्रावण ६ गते ३ जना उपाध्यक्षहरूले बैठकको कुरा गरेका छौँ । बैठक छिटै बस्ला । एन्फाले प्राविधिकहरूको कुरामा हस्तक्षेप गर्नुहुँदैन, उनीहरूलाई स्वत्रन्त्र रूपमा आफ्नै कुराहरू उठाउन दिनुपर्छ भन्दै आवाज उठाउँदै आइरहेको छु । प्रशिक्षकले भन्नुभएको ‘गएको ३ हप्ता एकदमै टेन्सन दियो, मैले राजीनामा गर्न जाँदै छु’ कुरा आएपछि म एकदम दुःखी छु ।

यो नेपाली फुटबलको विषय हो । व्यक्तिगत रूपमा मलाई घाटा पर्ला त्यसले केही अर्थ राख्दैन । तर नेपाली फुटबलमा घाटा हुनुहुँदैन भन्ने मेरो मान्यता हो ।

२० एन्फाभित्र धेरै राजनीति भयो भन्छन् नि ? यसमा के भन्नुहुन्छ ?

प्रशिक्षक र खेलाडी प्रत्यक्षरूपमा एन्फाको राजनीतिबाट टाढा रहनुपर्छ । प्रशिक्षणको दौरानमा टिमलाई आवश्यक पर्ने सामान, सुविधाको चाँजोपाँजो मिलाउने जिम्मा हाम्रो हो । व्यवस्थापनको जिम्मा हाम्रो हो । प्रत्यक्ष राजनीतिमा उनीहरूको संलग्नता हुनुहुँदैन भन्ने मेरो मान्यता हो ।

मेरा नामै तोकेर किन भन्नुभयो म जान्दिन । मैले छानबिनको माग गरेको छु । उहाँले त्यो प्रमाणित गर्नुपर्छ । प्रमाणित भएको एक मिनेट पनि म एन्फामा बस्नेछैन । यदि उहाँले प्रमाणित गर्न सक्नुभएन भने यसको पछाडि को–को छन् त्यसको भागिदार उहाँ हुनुपर्छ । कसैलाई झुटा आरोप लगाएर चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन् ।

 हेर्नुहास् पूरा अन्तर्वार्ता : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?