महिला वर्चस्वको शानदार उदाहरण: टोकियो ओलम्पिक

काठमाडौं। के हामी पत्याउन सक्छौं, १२ वर्षकी एक बालिका टोकियो ओलम्पिकमा सहभागी छिन् भनेर ?

जुलाई २४, शनिवारको दिन १२ वर्षीय सिरियन टेबल टेनिस खेलाडी हेन्ड जाजाले ओलम्पिक खेलिन्। टोकियो ओलम्पिककै सबैभन्दा कम उमेरकी खेलाडी बन्दै जाजाले सन् १९९२ देखिको इतिहास तोडिन्।

जाजा टेबल टेनिस विधामा २८ वर्ष यताकै कान्छी खेलाडी बन्न पुगिन्। १२ वर्ष २०४ दिनकी जाजाले खेल त जितिनन् तर सबैको मन भने अवश्य जितेकी छिन्। जाजाको चर्चा त सबै स्थानमा भइरहेको अवस्था छ। तर टोकियो ओलम्पिक २०२० मा उमेर मात्र एउटा अंक हो भनेर पुष्टि गर्ने अन्य केही महिला खेलाडी पनि प्रतिस्पर्धा गर्दैछन्।

स्काई ब्राउन (१३ वर्ष, ग्रेट ब्रिटेन)

टोकियो ओलम्पिक २०२० मा स्केटबोर्डिङ खेलले डेब्यू गरेसँगै नयाँ जोश र उर्जाले समेत डेब्यू गरेको देख्न सकिन्छ।

१३ वर्षीय स्काई ब्राउन ग्रेट ब्रिटेनको ओलम्पिक इतिहासकै सबैभन्दा कान्छी खेलाडी बन्न पुगेकी छिन्। रमाइलो कुरा त, अगस्ट ४ मा ब्राउनसँग प्रतिस्पर्धा गर्न मञ्चमा उत्रिने खेलाडी रहेका छन् जापानकी हिराकी कोकोना (१२ वर्ष), ब्राजिलकी रेसा लिल (१३ वर्ष) र जर्मनीकी लिली स्टोफासिस (१४ वर्ष)। अझै स्केटबोर्डिङको दावेदार मानिएकी वर्ल्ड च्याम्पियन ओकामितो मिसुगु मात्र १५ वर्षकी छिन् । यी मध्ये जो कोहीले स्वर्ण जितेको खण्डमा नयाँ इतिहास रचिने छ। २१औं शताब्दीकै सबैभन्दा कम उमेरको स्वर्ण पदक विजेताको इतिहास।

 

क्वान होङचाङ (१४ वर्ष, चीन)

चीनकी क्वान होङचाङ उमेरले त बल्ल १४ लागिन् तर डाइभिङमा उनी आफ्नो राष्ट्रको स्वर्ण पदक ताक्दै छिन्।

अगस्ट ४ मै खेलिने महिला १० मीटर प्ल्याटफर्म डाइभिङमा होङचाङको प्रतिद्वन्दी हुनेछिन् चीनकै चेन युक्सी। १५ वर्षीय युक्सी पनि स्वर्ण पदक नै आँखा लगाइरहेकी छिन्।

 

केटी ग्राइम्स (१५ वर्ष, संयुक्त राज्य अमेरिका)

संयुक्त राज्य अमेरिकाको विशाल खेलाडीको समुहमा सम्मिलित छिन् १५ वर्षीय केटी। महिला ८०० मीटर फ्रि-स्टाइलमा प्रतिस्पर्धा गर्न गइरहेकी केटी अमेरिकी पौडीमा सन् १९९६ पछिको कान्छी खेलाडी हुन्।

संयुक्त राज्य अमेरिकाका अन्य युवा महिला खेलाडी: क्लेयर कुर्जान (१६ वर्ष), लिडिया जेकोबी (१७ वर्ष), पौडी। कोलिन डफी (१७ वर्ष) क्लाइमबिङ।

अन्त्यमा…

मेरी हाना (६६ वर्ष, अस्ट्रेलिया)

हो, ६६ वर्षीय अस्ट्रेलियन मेरी हाना टोकियो ओलम्पिककै सबैभन्दा जेठी ओलम्पियन हुन्। परिवारमा हजुरआमा बनिसकेकी हाना टोकियो ओलम्पिकमा स्वर्ण पदक ताक्दै छिन्।

आफ्नो ७औं ओलम्पिकमा प्रतिस्पर्धा गरिरहेकी हाना घोडसवार अन्तर्गतको इक्विस्ट्रियन विधामा प्रतिस्पर्धा गर्नेछिन्। उनी इतिहासकै सबैभन्दा बढी उमेरकी ओलम्पियनको सूचीमा दोस्रो नम्बरमा पर्दछिन्।

महिला शसक्तिकरणको सुन्दर उदाहरण बनेको छ टोकियो ओलम्पिक। यहाँ जात, रङ्ग, उमेर हेरिँदैन। यहाँ केवल प्रतिभाको कदर हुन्छ, हिम्मतको सम्मान हुन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?