श्रीलंकाविरुद्ध पहिलो टी-ट्वेन्टी भारतलाई, भुवनेश्वर कुमारको दमदार प्रदर्शन

काठमाडौं। श्रीलंका भ्रमणमा रहेको भारतीय क्रिकेट टोलीले पहिलो टी-ट्वेन्टी खेलमा जित दर्ता गरेको छ।

कोलम्बोस्थित राजपक्ष प्रेमदासा रंगशालामा खेलिएको तीन टी-ट्वेन्टी शृंखला अन्तर्गतको पहिलो खेलमा घरेलु टोली टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १६४ रनको योगफल तयार गर्न सफल भयो। भारतका लागि सूर्यकुमार यादवले सर्वाधिक ५० रनको अर्धशतकीय पारी खेले भने कप्तान शिखर धवनले ४६ रन जोडेका थिए।

श्रीलंकाका लागि दुशमान्था चमिरा र वानिन्दु हसरंगाले समान २-२ विकेट लिन सफल भएका थिए। जवाफी ब्याटिङमा १६५ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका १८.३ ओभरमा १२६ रनमै समेटियो। श्रीलंकाका लागि चरिथ असलङ्काले ४४ रनको योगदान दिँदा ओपनर अभिस्का फर्नान्डोले २६ रन प्रहार गरे। भारतका लागि तिब्र गतिका बलर भुवनेश्वर कुमारले व्यक्तिगत ३.३ ओभरमा मात्र २२ रन खर्चेर ४ विकेट लिन सफल भए।

आफ्नो दमदार प्रदर्शनीका लागि भुवनेश्वर खेलको ‘म्यान अफ दि म्याच’ चुनिए। यस जितसँगै भारतले श्रीलंका माथि तीन टी-ट्वेन्टी शृंखलामा १-० को अग्रता लिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?