खेलाडीको स्वास्थ र सुरक्षा ए-डिभिजन लिगको पहिलो प्राथमिकता

काठमाडौं। शहीद स्मारक ए डिभिजन लिग तोकिएकै समयमा शुरु हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतवार बोलाएको बैठकमा १४ वटै ए-डिभिजन लिग क्लबको सहमति भएसँगै निर्धारित समयमा ए-डिभिजन लिग शुरु हुने पक्का भएको छ।

यस अघि ललितपुरका चार क्लब, थ्री स्टार, ब्रिगेड ब्वाइज, जावलाखेल युथ क्लब र फ्रेन्ड्स क्लबले ज्ञापनपत्र पेश गर्दै असोज ३ बाट लिग शुरु गर्दा स्वास्थ्य मापदण्ड पुरा नहुने बताएका थिए। एन्फाले सोही विषयलाई मध्यनजर गर्दै आइतवार बोलाएको बैठकमा खेलाडीको स्वास्थ्य र सुरक्षा नै पहिलो प्राथमिकता हुने जानकारी दिएको छ।

एन्फाले सम्पूर्ण स्वाथ्य मापदण्ड पुरा गरी लिग सञ्चालन गर्ने प्रतिबद्धता देखाएसँगै १४ वटै ए-डिभिजन क्लब निर्धारित समयमा लिग सञ्चालन गर्न सहमत भएका छन्। एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले लिगको लागि सरकारसँग अनुमति लिइसकेको र पहिलो प्राथमिकता स्वास्थ्य र सुरक्षा नै रहने गरी लिग शुरु गर्ने बताएका छन्। शेर्पाले कोरोना महामारीको बावजुद विभिन्न अन्तराष्ट्रिय फुटबल आयोजना भएको र त्यसैको अनुभवले ए-डिभिजन लिग शुरु गर्ने जानकारी दिएका छन्। क्लबहरूबीच अर्को आइतवार लिगको बारे छलफल गरी सबै विषय वस्तुको टुङ्गो लाग्ने विश्वास एन्फाले राखेको छ।

बैठकमा एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ लगायतका व्यक्तित्व पनि उपस्थित थिए। छलफलमा ए-डिभिजन लिग क्लबका उपस्थित प्रतिनिधि यस प्रकार रहेका थिए।

 

ब्रिगेड ब्वाइज क्लब: लालकुमार पुन
थ्री स्टार क्लब: सञ्जीव शिल्पकार
सातदोबाटो युथ क्लब: कोपिला रन मगर
एपीएफ: पंकज चन्द
हिमालयन शेर्पा क्लब: विजेन पुडासैनी
फ्रेन्ड्स क्लब: दिपक थापा
जावलाखेल युथ क्लब: महेन्द्र क्षेत्री
न्युरोड टिम (एनआरटी): सुन्दर जोशी
नेपाल पुलिस क्लब: अनन्त थापा
संकटा क्लब: सुरेन्द्र सिख्राकर
च्यासल युथ क्लब: प्रदीप व्यञ्जनकार
त्रिभुवन आर्मी क्लब: शशीकिरण रायमाझी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?