टेलिकम सेवाको गुणस्तर खस्कियो

लोकपथ
143
Shares

काठमाडौं । नेपाल टेलिकमले कमसल उपकरण प्रयोग गरेका कारण सेवाको गुणस्तर खस्किँदै गएको छ। टेलिकमले सेटिस्फ्याक्ट्री पर्फमेन्स सर्टिफिकेट (एसपिसी) रिपोर्ट राम्रो नभएका कम्पनीका उपकरण प्रयोग गरेका कारण सेवा खस्किँदै गएको विज्ञहरूले बताएका छन्।

नियमनकारी निकाय दूरसञ्चार प्राधिकरणले गरेको अध्ययनमा टेलिकमको सेवा कम गुणस्तरको भएको उल्लेख छ। प्राधिकरणले २०७७ चैतदेखि २०७८ जेठसम्म ड्राइभ टेस्टसहित गरेको अध्ययनमा टेलिकमको मोबाइल सेवा कम गुणस्तरको पाइएको हो। प्राधिकरणले काठमाडौं उपत्यकामा मोबाइल सेवाको गुणस्तर परीक्षण गरेको थियो। एनसेलको भन्दा टेलिकमको सेवा कम गुणस्तरीय रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ। आफ्नै नेटवर्कभित्र लोकल कल गर्दा सबैभन्दा कम समय (५.२७ सेकेन्ड) मा एनसेलको नेटवर्कमा कल स्थापना भएको छ भने नेपाल टेलिकमको मोबाइलमा कल गर्दा ९.३४ सेकेन्ड समय लागेको छ। त्यसैगरी स्मार्ट टेलिकमको नेटवर्कमा १०.२७ सेकेन्ड लागेको छ।

कल स्थापना हुने सफलताको दरमा पनि टेलिकम कमजोर देखिएको छ। एनसेलको कल स्थापना हुने सफलताको दर ९४.४३ प्रतिशत छ भने टेलिकमको नेटवर्कमा ९०.५१ प्रतिशत रहेको छ । आफैं फोन कल विच्छेद हुने दर टेलिकममा ०.८७ प्रतिशत, स्मार्ट टेलिकममा ०.४५ प्रतिशत र एनसेलमा ०.२ प्रतिशत रहेको छ। कम गुणस्तर मात्र नभएर टेलिकमको सेवा पटकपटक अवरुद्ध हुँदै आए पनि सुधार हुन सकेको छैन।

गत असार ९ गते एचएलआर सिस्टममा आएको समस्याका कारण करिब सवा दुई घण्टा सेवा अवरुद्ध भएको थियो। सेटिस्फ्याक्ट्री पर्फमेन्स सर्टिफिकेट राम्रो नभएको कम्पनीका उपकरण जडान गरेका कारण समस्या भएको आरोप लाग्दै आएको छ। टेलिकमको एचएलआर सिस्टम चीनको जेडटिई कर्पोरेसनले जडान गरेको हो । जेडटिई नेपाल टेलिकममा उपकरण बिक्री गर्ने सबैभन्दा ठूलो भेन्डर हो। यस कम्पनीले वर्षौंदेखि अर्बौं रुपैयाँका उपकरण टेलिकमलाई बिक्री गर्दै आएको छ।

जेडटिईले जडान गरेको उपकरणमा समस्या देखिएर सेवा अवरुद्ध भएको नेपाल टेलिकमका प्रबन्ध निर्देशक  डिल्लीराम अधिकारीले पनि स्वीकार गरे। ‘एचएलआर सिस्टममा समस्या देखिएपछि सम्बन्धित कम्पनीले मर्मत गरेको छ,’ उनले भने।

टेलिकमले प्रदान गर्ने सेवाको गुणस्तरका विषयमा पटकपटक आलोचना हुँदै आएको छ। सन् २०१६ देखि अहिलेसम्म करिब आठपटक टेलिकमको सेवा अवरुद्ध भएको छ। गत असारमा सेवा अवरुद्ध भएको विषयमा छानबिन गर्न नेपाल टेलिकमले समिति गठन गरेको थियो। एक महिना बितिसक्दा पनि प्रतिवेदन सार्वजनिक गरिएको छैन। सेवा अवरुद्ध हुनाको कारण सार्वजनिक गर्न अनुरोध गर्दा पनि आनाकानी गरेको नेपाल टेलिकम नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष यादव पनेरुले बताए।

सेवा अवरुद्ध हुँदा मोबाइल प्रयोगकर्ताको लोकेसन पहिचान गर्न सिस्टममा समस्या देखिएको थियो । लोकेसन प्रत्येक समय सिस्टमले अपडेट गरेपछि मात्र कललाई सम्बन्धित नम्बरमा फरवार्ड गर्छ। तर लोकेसन नै पहिचान नभएपछि एचएलआर भनिने कोर नेटवर्कभित्र समस्या देखिएको हो।

टेलिकमकी सिसिओ प्रतिभा वैद्यको नेतृत्वमा गठित छानबिन समितिले प्रतिवेदन तयार गरेको भए पनि गुपचुप राखेको कर्मचारी संगठनको आरोप छ। एचएलआरमा आएको समस्या रहस्यमय भएको कर्मचारी संगठनका अध्यक्ष पनेरुले बताए। ‘बिहान ट्राफिक कम हुने समयमा सेवा अवरुद्ध भएको छ,’ पनेरुले भने, ‘बारम्बार सेवा अवरुद्ध हुँदा पनि व्यवस्थापन गम्भीर भएको देखिएन।’ कर्मचारी संगठनले छानबिन प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ। ‘न्यून गुणस्तरका उपकरणको कारण हो भने भेन्डरलाई कारबाही हुनुपर्छ,’ पनेरुले भने।

संगठनले सेवा सुधार गर्न व्यवस्थापनलाई पटकपटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेको जनाएको छ। टेलिकमको राजस्व दिनानुदिन घट्दै गएको र पटकपटक सेवा अवरुद्ध हुनुले संस्थालाई धराशयी बनाउन चलेखल भएको आशंका संगठनको छ।

गुणस्तर कमजोर भएको र सेवा अवरुद्ध भएपछि नेपाल टेलिकमले सन् २०१९ मा पनि तत्कालीन चिफ टेक्निकल अफिसर आनन्द वैद्यको संयोजकत्वमा छानबिन समिति बनाएको थियो। वैद्य नेतृत्वको समितिले न्यून गुणस्तरका उपकरणका कारण समस्या उत्पन्न भएको, राउटरमा पर्याप्त स्पेयर कार्ड नभएको, राउटर कम विश्वसनीय भएको, विगतमा पनि समस्या देखिने गरेको निष्कर्ष निकालेको थियो। प्रतिवेदनमा एसपिसी रिपोर्ट राम्रो नभएका कम्पनीको उपकरण जडान गर्न नहुने उल्लेख थियो।

वैद्य नेतृत्वको समितिले जेडटिई कर्पोरेसन कम्पनीको एडएक्सआर १० एम ६००० सेरिज राउटर सन्तोषजनक नभएकोे प्रतिवेदन तयार गरेको थियो। जेडटिई कम्पनीको एसपिसी रिपोर्ट सन्तोषजनक नभए पनि टेलिकमले सोही कम्पनीका उपकरण प्रयोग गर्दै आएको छ। अहिले जेडटिई कम्पनीको उपकरणका कारण सवा दुई घण्टा सेवा अवरुद्ध हुँदा पनि टेलिकमले कारबाही नगरेको भन्दै आलोचना भएको छ।

‘छानबिन समितिले उपकरण सन्तोषनक नभएको प्रतिवेदन पेस गर्दा पनि निरन्तर त्यही कम्पनीबाट सामान किन्ने काम भइरहेको छ,’ टेलिकमका एक अधिकारीले भने, ‘सरकारले संसदीय समिति बनाएर छानबिन गर्नुपर्छ ।’

टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले उपकरण खरिद गर्दा एसपिसी रिपोर्ट आवश्यक रहेको भने स्वीकार गरे। ‘तर सार्वजनिक खरिद ऐन, आर्थिक विनियममा एसपिसी रिपोर्ट आवश्यक पर्ने नऔंल्याएकाले यस्तो रिपोर्ट माग्ने गरेका छैनौं,’ अधिकारीले भने, ‘एसपिसी रिपोर्टको आवश्यकता महसुस गरेर कम्पनीको खरिद कार्यविधिमा एसपिसी रिपोर्ट अनिवार्य गर्ने तयारी गरेका छौं।’ सेवा अवरुद्ध भएको विषयमा सञ्चालक समितिमा छलफल भएको उनले बताए। प्रतिभा वैद्य नेतृत्वको समितिले प्रतिवेदन बुझाइसकेको भए पनि अधिकारीले मावनीय त्रुटि हो वा उपकरणको कारण हो भन्ने खुलाउन चाहेनन्। ‘समितिमा छलफल गरेपछि वास्तविकता सार्वजनिक गर्छौं,’ अधिकारीले भने।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?