इजरायलबाट एक हजार कामदारको माग : विज्ञापन चाँडै गरिने

लोकपथ
741
Shares

काठमाडौं । इजरायलमा सुसारे (केयरगिभर) रूपमा एक हजार नेपाली दक्ष श्रमिकको माग आएको छ । वैदेशिक रोजगार विभागका अनुुसार इजरायलबाट सरकारी तवरबाट केयरगिभरको माग आएको हो ।

विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले इजरायल र नेपाल सरकारबीच भएको सम्झौताअनुसार इजरायलबाट एक हजार केयरगिभरका लागि माग आइसकेकाले सामान्य अवस्था रहेमा अबको एक/डेढ हप्ताभित्र विज्ञापन खुल्ने जानकारी दिए ।
मागअनुसार विज्ञापन गर्न इजरायलसँग अन्तिम स्वीकृतिको अनुुमतिको माग गरिएको र स्वीकृति प्राप्त हुनासाथ विज्ञापन गरिने उनले स्पष्ट गरे । “नेपाल कोरोना सङ्क्रमण उच्च जोखिममा नै रहेकाले तत्कालै विज्ञापन खुलाउने अनुमति दिनलाई गाह्रो मान्छ कि भन्ने मात्रै हो,” उनले भने, “विदेश जानेलाई खोप आइसकेकाले यति कारणले रोक्दैन कि भन्ने लागेको छ । ”

महानिर्देशक दवाडीले इजरायल र नेपालबीच भएको समझदारीमा पहिलो चरणमा पाँच सय जना मात्रै प्रशिक्षार्थी लैजाने भनिएकाले विज्ञापन गर्दा एक हजारको गर्ने कि पाँच सय भन्ने टुङ्गो नलागेको बताए । विभागले विज्ञापन खुलाउन आएको मागअनुसार नै खुलाउन अनुुमति माग्ने तर सबै टुङ्गो पनि विज्ञापनको अनुमतिपत्रमै आउने विश्वास उनले व्यक्त गरे । उनका अनुसार केयरगिभरमा इजरायल जानका लागि २१ दिनको म्याद राखेर आवेदन खुल्नेछ र आवेदन माग गर्दा तोकिएको योग्यता पुगेका आवेदकले आवेदन दिन सक्नेछन् ।

नेपाल र इजरायल सरकारबीच बीच २०७७ असोज १४ गते नेपाली श्रमिक इजरायल पठाउने विषयमा श्रम सम्झौता सम्पन्न भएको थियो । सोअनुसार पहिलो चरणमा केयरगिभरका लागि परीक्षार्थी श्रमिक पठाउने प्रक्रिया थालिनेछ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायलमा नेपाली दक्ष श्रमिक पठाउनेसम्बन्धी निर्देशिका २०७८ यसअघि नै जारी गरिसकेको छ । उक्त निर्देशिकामा गरिएको व्यवस्था भएअनुसार इजरायल रोजगारीमा जाँदा लाग्ने आवश्यक शुल्क रोजगारदाताले नबेहोरेको खण्डमा स्वयं श्रमिक आफैँले बेहोनुपर्ने व्यवस्था छ । नेपाल र इजरायल सरकारबीच भएको सम्झौतामा नेपाली नागरिकलाई रोजगारीका लागि इजरायल पठाउँदा लाग्ने हवाई भाडा, बीमा, स्वास्थ्य परीक्षण, कल्याणकारी कोषको रकम र श्रम स्वीकृति लिँदा लाग्ने खर्च रोजगारदाताले बेहोर्ने उल्लेख छ ।

विभागका महानिर्देशक दवाडीले श्रम विज्ञहरूको मागअनुसार इजरायलको पाठयक्रम परिमार्जन भइसकेको पनि जानकारी दिए । निर्देशिकाअनुसार इजरायलमा केयरगिभरमा जानका लागि उमेर २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ भने उचाइ कम्तीमा १.५ मिटर (४.९ फिट) र तौल ४५ केजी हुनुपर्नेछ ।

शैक्षिक योग्यता कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमएसम्बन्धी विषयमा १५ महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यताप्राप्त तालिम लिएको हुनुपर्नेछ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?