एमाले पार्टी एकताका लागि दबाब अभियान सुरु

लोकपथ
299
Shares

काठमाडौं । नेकपा एमालेका दुवै पक्षका सांसदहरुले पार्टी एकताका लागि दवाव अभियान सुरु गरेका छन ।

दश बूँदे सहमति कार्यान्वयन गरी पार्टीलाई एकतावद्ध बनाउन विघटित पार्टी एकता कार्यदलका नेताहरुसँग एमालेका अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरुले संयुक्त रुपमा दवाव दिन सुरु गरेका हुन ।
आईतवार सिंहदरवारमा विघटित कार्य दलका संयोजक तथा सदस्यहरुसँग भेट गरी उनीहरुले १० बूँदे सहमति कार्यान्वयन गरेर पार्टीलाई एकतावद्ध बनाउन आफूहरुले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । पार्टी एकतालाई मजदुत बनाउन लागि दवाव अभियान सुरु गरिएको सांसद कृष्णप्रसाद दाहालले जानकारी दिए ।

उनले भने, “पार्टी एकतालाई मजदुत बनाउनका लागि हामी दवाव दिन्छौं । त्यसका लागि सल्लाह पनि दिनेछौं । विघटित पार्टी एकता कार्य दललाई विश्वास पनि गर्दछौं । शिर्ष तहमा समस्या समाधान भने त्यसलाई पनि मिलाउनुहोस् । हामी तपाईँहरुको साथमा छौं । पार्टी भित्रको समस्या समाधान भन्दा बाहिर, पार्टी एकताभन्दा बाहिर कसैलाई पनि जाने अनुमति छैन । हामी जान दिँदैनौं ।”

सांसदहरुले देश, जनता, राष्ट्र र लोकतन्त्रका लागि पनि एमाले विभावित हुन नहुने तर्क समेत गरेका छन् । उनीहरुले विघटित पार्टी एकता कार्य दलका नेताहरुलाई पार्टी एकता भन्दा बाहिर जाने अनूमति नेताहरुलाई नभएको पनि सचेत गराएका छन् । छलफलमा विघटित पार्टी एकता कार्य दलका संयोजक तथा सदस्यहरुले १० बूँदे सहमतिको महत्व र त्यसको कार्यान्वयनका आवश्यक्ताबारे सांसदहरुलाई जानकारी गराएका थिए । १० बूँदे सहमति कार्यान्वयन गर्दै पार्टीलाई एकतावद्ध बनाउन सांसदहरुले आफूहरुलाई आग्रह गरेको विघटित कार्यदलका माधव नेपाल पक्षका संयोजक भीम रावलले जानकारी दिए ।

उनले पार्टी एकतावद्ध हुनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया पनि दिए । “हामीले १० बूँदे सहमतिको महत्व र त्यसको कार्यान्वयनको स्थितिबारे उहाँहरुलाई जानकारी गरायौं । र उहाँहरुले पार्टीलाई एक मतले एकतावद्ध बनाएर अघि लैजान जोड दिनु भयो । त्यसका लागि उहाँहरुले संघीय संसदका पार्टीका सबै सांसदहरु कटिवद्ध भएर लागिपर्ने बताउनु भयो । १० बूँदे सहमति कार्यान्वयनमा पनि भूमिका खेल्नुस भन्नु भयो । हामीहरुले एमाले एकतावद्ध भएर अघि बढने विश्वास दिलायौं ।”

बैठकमा विघटित कार्य दलका माधव नेपाल पक्षका संयोजक रावल, अध्यक्ष ओली पक्षका संयोजक सुवासचन्द्र नेम्वाङसहित कार्य दलका सदस्यहरु सहभागी भएका थिए भने दुवै पक्षका २ दर्जन बढि सांसदहरुको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?