निगमलाई निजीकरण: साउन २५ गते उपस्थित हुन दुवै पक्षलाई सर्वोच्चको आदेश

काठमाडौँ– नेपाल वायु सेवा निगमलाई निजीकरण गर्ने प्रक्रिया रोक्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले दुवै पक्षलाई आगामी साउन २५ गते उपस्थित हुन आदेश दिएको छ।

आतिस कार्कीले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। त्यस अवधिसम्म निजीकरण गर्ने प्रक्रियाका लागि भइरहेका कामकारबाही रोक्न भनिएको छ।

आदेशमा भनिएको छ, ‘दुवै पक्षको छलफलबाट अन्तरिम आदेशको सम्बन्धमा निर्णय हुनु अघि नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने सम्बन्धी सम्पूर्ण कार्य जेजस्तो अवस्थामा छ, सोही अवस्थामा यथास्थितिमा राख्नू, निजीकरणका सम्बन्धमा कुनै निर्णय नगर्न नगराउनू भनी प्रत्यर्थीहरुका नाममा अल्पकालीन अन्तरिम आदेशसमेत जारी गरिएको छ। यसमा निवेदकले अन्तरिम आदेशसमेत जारी गरिपाउँ भनी निवेदन माग गरेको सम्बन्धमा दुवै पक्ष बीच छलफल गरी निष्कर्षमा पुग्न उपयुक्त हुने देखिएकोले मिति २०७८।४।२५ गते अन्तरिम आदेश छलफलको पेशी तोकी उपस्थित हुन सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२) (ग) बमोजिम प्रत्यर्थीहरूलाई जानकारी गराउनू।’

त्यस्तै न्यायाधीश रेग्मीको इजलासले कारण देखाउ आदेशसमेत जारी गरेको छ। निगमलाई निजीकरण गर्ने विषयमा आधार र कारण खुलाइ १५ दिनभित्र पेश गर्न भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?