काठमाडौं, १९ चैत- सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको राजीनामामाथि भएको कारबाहीबारे जानकारी गराउन राष्ट्रपतिको कार्यालयलाई आदेश दिएको छ । अवकाश उमेर हद विवादमा मुछिएपछि न्यायपरिषद्ले पदमुक्त भएको जानकारी गराएलगत्तै पराजुलीले राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका थिए ।सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले पराजुलीले बुझाएको राजीनामापछि राष्ट्रपतिबाट भएको कारबाही र पत्राचारबारे जानकारी गराउन भनिएको छ । राष्ट्रपति कार्यालयले गत १ चैतमा पराजुलीले राजीनामा दिएको जानकारी गराउँदै प्रेस विज्ञप्ति प्रकाशित गरेको थियो ।विज्ञप्तिमा राजीनामा दिएको उल्लेख गरेको तर धन्यवाद ज्ञापन नगरिएको भन्दै उनको राजीनामाले वैधता नपाएको दाबी पराजुलीविरुद्ध रिट दायर गरेका अधिवक्ताले गरेपछि अदालतले राष्ट्रपति कार्यालयलाई राजीनामा के भएको हो भन्ने विषयमा जानकारी मागेको हो ।‘गोपाल पराजुलीले प्रधानन्यायाधीशको हैसियतले राष्ट्रपतिसमक्ष १ चैत २०७४ मा दिएको राजीनामाका सम्बन्धमा राष्ट्रपति कार्यालयबाट भएको कारबाही एवं पत्राचारबारे राष्ट्रपति कार्यालयबाट जवाफ लिनू’ आदेशमा उल्लेख छ ।अधिवक्ता नारायण खरेल र हेममणि सुवेदीले ४ चैतमा सर्वोच्च अदालतमा अवकाश पाएको व्यक्तिले राष्ट्रपतिलाई गराएको शपथ असंवैधानिक भएकाले पुनः शपथको मागसहित रिट दर्ता गरेपछि यो विवाद न्यायालयमा विचाराधीन छ ।रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले पराजुलीलाई नियुक्तिको सिफारिस गर्ने संवैधानिक परिषद्को निर्णयसमेत अदालतमा पेस गर्न भनेको छ, राजधानी दैनिकमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया