संसदीय समितिमा चर्काचर्की, नारदमुनिसँग माधव नेपाल आक्रोशित

काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसदहरूबीच चर्काचर्की परेको छ । संसदीय समितिमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद नारदमुनि रानामाथि गठबन्धन खनिएको हो ।

आइतबार बसेको संसदको अन्तर्राष्ट्रिय समितिमा सांसद रानाले वर्तमान सरकार जनताको जनमतले नभई सर्वोच्च अदालतका परमादेशले बनेको अभिव्यक्ति दिएसँगै गठबन्धन उनीमाथि खनिएको हो । सांसद रानाले संसद पुनःस्थापना र वर्तमान सरकारको गठन जनमतले नभई  सर्वोच्च अदालतको परमादेशले बनेको अभिव्यक्ति दिएका थिए । सांसद रानाबाट उक्त अभिव्यक्ति आएसँगै नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेको माधवकुमार नेपाल पक्षका सांसदले प्रतिकार गरेका थिए।

त्यस्तै वरिष्ठ नेता माधव नेपालले सांसद रानाको उक्त अभिव्यक्तिलाई प्रतिगमनको संज्ञा दिँदै बैठकबाट उनलाई बाहिरिन निर्देशन दिए । तर सांसद रानाले आफूलाई समितिको बैठकमा आमन्त्रित गरिएकाले आफ्ना भनाइ राख्न पाउनुपर्ने माग गरेका थिए।

त्यस्तै अन्य सांसदहरुले प्रतिनिधिसभा जनमतले बनाएको भन्दै अमर्यादित कुरा नबोल्न चेतावनी दिए । सांसदहरूले रानालाई बैठकबाट निकाल्न सभापति पवित्रा निरौलाको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा सभापति निरौलाले समिति कुनै राजनीतिक पार्टीको बैठकस्थल नभएकोले समितिले दिएको विषयमा केन्द्रीत हुन आग्रह गरेकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?