माधव नेपालमाथि फेरि खनिए ओली, कार्यकर्तालाई षड्यन्त्रबाट बाहिर निस्कन आग्रह

लोकपथ
624
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालप्रति फेरि कटाक्ष गरेका छन्।

आइतबार नेपाल महिला संघको बैठकको ‘भर्चुअल’ सम्बोधन गर्दै ओलीले वरिष्ठ नेता नेपाललाई लक्षित गर्दै पार्टीविरोधी षड्यन्त्रको चक्रबाट बाहिर निस्कन सबै कार्यकर्ताहरूसँग आग्रह गरेका छन् ।

‘बाटो बिराएकालाई पनि सहमतिमा आउनुस्। सामाजिक अभियान हाम्रो मुख्य विषय थियो। तर कहिलेकाहीँ राजनीतिक विषय मुख्य बनेर आउँछ’, ओलीले भने।

वरिष्ठ नेता नेपालले हालै मात्र सुण्डमुसुण्डहरुले आफूलाई तर्साउन खोजेको बताएका थिए । उनले भने, ‘केपी ओलीका सुण्डमुसुण्डहरुले घरअगाडि आएर पख्लास्, देख्लास् भने अरे । यस्ता वाहियात कुरा नगरे पनि हुन्छ । केपी ओलीको साथमा रहेको कुनै २/४ जनाको झुण्ड होइन। देशको सबैभन्दा बढी जनसंख्या नेकपा एमालेको साथमा छ, केपी ओलीको साथमा छ ।’

उनले थप्दै भने, ‘नेकपा कुनै गुण्डाको दल होइन, एउटा परिपक्व राजनीतिक पार्टी हो, जसको काँधमा देशको मुहार फेर्ने अभिभारा छ ।’

सत्तारुढ गठबन्धनबाट अलग हुन ओलीले नेपाललाई फकाइरहेको भए पनि नेपालले अलग नहुने बताएपछि ओली आक्रोशित भएका हुन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गरेपछि नेपाल गठबन्धनबाट केही दिन बाहिरिएको भए पनि फेरि गठबन्धनमै सक्रिय भएका छन्। शनिबार भएको गठबन्धनको बैठकमा पनि नेपाल सहभागी भएका थिए।

ओलीले यसअघि नेपाललाई ‘गद्दार’ भन्दै तल्लो स्तरमा आलोचना गरेका थिए। तर, बिहीबार सम्पन्न केन्द्रीय कमिटीको बैठकमा ओलीले नेपाललाई माफी दिएको घोषणा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?