मन्त्री छान्न प्रचण्डलाई सकस, उपप्रधानमन्त्री बन्ने नारायणकाजीको दाउ

काठमाडौं । शनिबार सत्तारुढ गठबन्धनमध्येको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीको नाम टुंगो लगाउन सकस भइरहेको बताए । नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सबै जना मन्त्रीका लागि आकांक्षी बन्दा टुंगो लगाउन सकस भएको बताएका हुन्।

मन्त्री बनाउनका लागि चारै तिरबाट दबाव आएको उनको भनाइ थियो । अध्यक्ष दाहालले भनेका थिए– ‘मन्त्री बन्न दबाव दिने मान्छेको हुलभित्रबाट आएको छु । चारै तिरबाट दबाव आएको छ । मेरो दिमागमा आतंक सृजना भएको छ । कसलाई मन्त्री बनाउने र कसलाई नबनाउने भनेर ।’


गत साउन ४ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेका थिए । विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ । तर मन्त्रिपरिषदलाई पूर्णता दिन नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी नेपालबाट समेत मन्त्रीको टुंगो लगाउन सकिरहेका छैनन् । अहिले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा पाँच सदस्यीय मन्त्रिमण्डल रहेको छ ।

पार्टीका सबै सांसदलाई मन्त्री बन्न हतार रहेको अध्यक्ष प्रचण्डले बताएका थिए । आफूले चाहे अनुसारको जिम्मेवारी नपाएमा नेतृत्वलाई सराप्ने प्रवृति मौलाएको उनको भनाइ थियो । उनले भनेका थिए– ‘हाम्रा सबै सांसदलाई मन्त्री बन्नुछ । हामीले पाउने बढीमा ७ वटा हो । पार्टीभित्रका सबै सांसद मन्त्री बन्ने दौडमा हुनुुहुन्छ । ठूलै नियुक्ति पायो भने ठीक छ । तर पाएन भने नेतृत्वलाई सरापेर हिड्ने प्रवृति छ ।’

माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यका अनुसार पार्टीभित्रका स–सना समूहले भाग खोजेकाले प्रचण्डलाई मन्त्रिमण्डलमा पठाउन गलपासो भइरहेको हो । ती स्थायी कमिटी सदस्य भन्छन्– ‘पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ आफै उपप्रधानसहितको मन्त्री बन्ने वा आफू पक्षका कम्तिमा दुई जनालाई मन्त्री बनाउनुपर्ने दाउमा हुनुहुन्छ । यस्तै भागबण्डाका कारण नै अध्यक्षलाई सकस भएको होला ।’

मन्त्री बन्ने दौडमा को को छन् ?

माओवादी स्थायी कमिटीमा रहेका अधिकांश नेताहरुले मन्त्री बन्ने दौडधूप गरिरहेका छन् । जसमध्ये प्रवक्ता नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, देवप्रसाद गुरुङलगायतको नाम अग्रपंक्तिमा रहेको छ ।

साथै मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलको पनि मन्त्री बन्ने चर्चा छ । प्रवक्ता श्रेष्ठले उपप्रधानसहितको मन्त्रालयको माग गरिरहेको ती स्थायी कमिटी सस्यको दाबी छ । आफूले उपप्रधानसहितको मन्त्रालय नपाएमा आफू पक्षका कम्तिमा दुई जनालाई मन्त्री बनाउनुपर्ने प्रवक्ता श्रेष्ठको अडान रहेको बुझिएको छ ।

प्रतिनिधि सभामा माओवादीका सभामुखसहित ४९ सांसद रहेका छन् । जसमध्ये जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बनिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?