बिमलेन्द्र निधिद्वारा कमला र बलान नदी कटान क्षेत्रको निरीक्षण

सप्तरी । नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले कमला र बलान नदीले कटान गरेको क्षेत्रको निरीक्षण गरेका छन् ।

निरीक्षणको क्रममा निधिले बलान नदीले ठूलो क्षति गरेको भन्दै कुनै सरकारी निकायबाट नदी नियन्त्रणका लागि पहल नहुनु यो क्षेत्रलाई उपेक्षित गरिएको बताए । उनले बलान नदी छेउका बस्ती बचाउन छिटो पहल गर्ने स्थानीयबासीलाई विश्वास दिलाए ।

प्रदेश २ सरकारका भौतिक पूर्वाधार मन्त्री रामसरोज यादवले नदी कटान समस्याको सम्बोधन यसपाली जसरी पनि हुने बताए ।

उक्त निरीक्षण टोलीमा सिँचाइ डिभिजन कार्यालय सप्तरीका प्रमुख राजकुमार खंग, कांग्रेस क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति किरण भगत, ४ (ख) सभापति जितेन्द्र प्रसाद यादवलगायत स्थानीयको उपस्थिति रहेको थियो ।

स्थानीय रामशंकर भण्डारीका अनुसार बलान नदीका कटानका कारण पटक–पटक बेल्ही बस्ती स्थान्तरण भइसकेका छन् । नदी नियन्त्रणका नाममा बजेट नआएका होइन, टुक्रे बजेट र अनुगमनको अभावमा जनताको आवश्यकताबमोजिम काम हुन सकेका छैन । अहिले पनि बस्ती कटानको उच्च जोखिममा रहेको उनको भनाइ छ ।

यस्तै धनुषाको सबैलास्थित भत्किएको कमला नदीको तटबन्धको समेत टोलीले निरीक्षण गरेको छ । केही दिनअघि कमला नदीमा आएको बाढीले सबैला नगरपालिका वडा नम्वर ४ पटेरवा र वडा नम्वर १३ किरतपुरमा भत्किएको तटबन्धको पछिल्लो समय विभिन्न पार्टीका नेता तथा मन्त्रीले निरीक्षण गर्नेगरेका छन् ।

सोही क्रममा शनिबार कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधानमन्त्री निधी र प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री यादवले समेत कमला नदीको स्थलगत निरीक्षण गरेका छन् ।

उपप्रधानमन्त्री निधीले कमला नदी र बलान नदीको कारण वर्षेनी लाखौको जनधनको क्षति हुँदै आएको बताए ।

कमला नदीले वर्षेनी गर्दै आएको क्षतिको विषयमा कमला नदी नियन्त्रण कार्यालयका डीई एकराज भट्टराईले टोलीलाई जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?