एमालेमा तेस्रो धार सक्रिय, विघटित कार्यदलका सदस्यसँग छलफल गर्दै

काठमाडौं । नेकपा एमालेमा पछिल्लो समय तेस्रो धार सक्रिय बनेको छ । पार्टीभित्रको विवाद टुंगिने कुनै छाटकाँट नदेखिएसँगै एमालेको तेस्रो धार सक्रिय बनेको हो ।

तेस्रो धारमा संस्थापन तथा इतर पक्षका सदस्यहरु नै सहभागी रहेका छन् । तेस्रो धारले आइतबार आन्तरिक एकताका लागि गठित कार्यदलका १० जना सदस्यसँग छलफल गर्न लागेको छ । कार्यदल भने केही समय अगाडि विघटन गरिएको थियो ।

तेस्रो धारमा रहेर सक्रिय रहेका सांसद पदम गिरिले एमालेको आन्तरिक एकता कायम गर्नका लागि छलफल गर्न लागिएको बताए । उनका अनुसार सिंहदरबारमा दिउँसो १ बजे छलफल हुनेछ । उनले भने– ‘कार्यदलले सर्वसम्मत रुपमा १० बुँदे सहमतिमा हस्ताक्षर गरेर अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाएको थियो । पार्टीले अनुमोदन पनि गरिसकेको छ । तर पार्टीलाई एकताबद्ध बनाएर लैजान सकिएको छैन । यस विषयमा कार्यदलका १० जना सदस्यसँग छलफल गर्न लागेका हौँ ।’

विघटन गरिएको एकता कार्यदलमा संस्थापन पक्ष र संस्थापन इतरपक्षबाट समान पाँच/पाँच जना सदस्य रहेका थिए । जसमध्ये अध्यक्ष ओली पक्षबाट सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका थिए भने वरिष्ठ नेता पक्षबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?