निर्मला प्रकरण तीन वर्ष बित्यो, घटनाको यथार्थ रहस्यकै गर्भमा

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज तीन वर्ष पुगेको छ । हत्या भएको तीन वर्ष बितिसक्दा पनि उनको बलात्कारपछि हत्या कसले गरेको हो भन्ने कुरा रहस्यकै गर्भमा रहेको छ ।

३ वर्षअघि साउन १० गते साथीको घरमा स्कुलको गृहकार्य गर्न गएकी १३ वर्षीय बालिका पन्त अबेर साँझसम्म पनि घर नफर्किएपछि उनको खोजी सुरु गरिएको थियो । साउन ११ गते नजिकैको उखुबारीमा निर्मलाको शव भेटिएको थियो ।

निर्मला हत्या प्रकरणमा नयाँ मोड

निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा धेरै छानबिन समिति बनाएर अनुसन्धान नभएका होइनन् । तर छानबिन समितिले पनि यस घटनाबारे पत्ता लगाउन नसक्दा घटना रहस्यकै गर्भमा रहेको छ ।

निर्मलाको वास्तविक हत्यारा को हुन्, निर्मलाको बलात्कारपछि हत्या तीन वर्ष बितिसक्दा पनि प्रहरीले अपराधीलाई पक्राउ गर्न किन सकेको छैन, के प्रहरीले अपराधीलाई लुकाउन खोजेको हो, सरकारको भूमिका किन सशक्त छैन, महिलाको सुरक्षा खोई, के नेपाल पनि महिलाको लागि खतराको देश बन्दै छ, लगायतका प्रश्नहरू आम नागरिकको चासोको विषय बनेका छन् ।

निर्मलाको घटनापछि मुलुकभर दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आन्दोलन नभएका होइनन् । निर्मलाको मुद्दा अन्तर्राष्ट्रियस्तरमा समेत चर्चाको विषय बने पनि तीन वर्ष बित्दासम्म दोषी पक्राउ परेको छैनन् र पछिल्लो समय प्रहरी अनुसन्धान सुस्ताएको देखिन्छ ।

सरकारले उच्चस्तरीय छानबिन समितिका साथै राष्ट्रिय मानवअधिकार आयोग र प्रहरीले विभिन्न छुट्टाछुट्टै छानबिन समिति गठन गरेर पनि घटनाको सूक्ष्म अनुसन्धान गरेको थियो ।

***

विभिन्न समितिका प्रतिवेदनले घटनाबारे थप आशंका व्यक्त गर्नुका साथै प्रमाण मेटिएकाले हत्यारा पत्ता लगाउन कठिन हुनेसमेत बताए । तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक धिरु बस्न्यातको टोलीले कञ्चनपुर पुगेर घटनाबारे अनुसन्धान गर्दै जिल्ला प्रहरी कार्यालयको घटनाप्रतिको लापरवाही र प्रमाण संकलनमा चुकेको भन्दै तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित सात जनालाई निलम्बन गरिएको थियो ।

घटना भएको एक महिनापछि वि सं २०७५ भदौ ४ मा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका–१९ बागफाँटाका दिलीप विष्टलाई सार्वजनिक गरेको थियो । अभियुक्त भनिएका विष्ट मानसिक रोगी भएको र प्रहरीले फसाउन खोजेको भन्दै आन्दोलनले उग्ररूप लिएको थियो । पछि विष्ट सरकारी वकिलको कार्यालयबाट रिहा भएका थिए ।

***

निर्मला प्रकरणको आन्दोलनकै क्रममा भीमदत्त नगरपालिका–१८ सालघारीका १४ वर्षीय शनी खुनाको निधन भएको थियो भने अझै केही युवक शारीरिक रूपले नै अशक्तता भएर उपचाररत छन् । भदौ ८ गते सरकारले गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा डीआईजीहरू र उच्च तहका सरकारी अधिकारी सम्मिलित छानबिन समितिले स्थलगत अध्ययनपछि मन्त्रालयमा बुझाएको प्रतिवेदन अझै कार्यान्वयन भएको छैन ।

घटनाको निरन्तर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले अहिलेसम्म निर्मलाको हत्यारा पत्ता लाग्न नसकेको बताएका छन् । ‘हामी अनुसन्धानकै क्रममा छौँ,’ उनले भने, ‘अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन ।’ अकाट्य प्रमाण र घटनाबारे बताउन सक्ने प्रत्यक्षदर्शी नहुँदा अनुसन्धान निष्कर्षमा पुग्न नसकेको उनले बताए । आफूहरूले हत्यारा पत्ता लगाउन निरन्तर अनुसन्धान गरिरहेको र दोषी पत्ता लाग्ने उनको भनाइ छ ।

नेपाल प्रहरी प्रधान कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक वसन्त कुँवरले निर्मला हत्या अनुसन्धानको दायरा साँघुरिएको बताएका छन् । ‘हत्यारा पत्ता लागेको भए त सार्वजनिक गरिहाल्थ्यौँ,’ उनले भने, ‘तर अनुसन्धान साँघुरिएर हामी धेरै नजिक पुगेका छौँ, यकिन भएको छैन ।’ अनुसन्धानका सबै संयन्त्र क्रियाशील भएको उनले बताए ।

आज सत्तारुढ नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले निर्मला पन्तलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रवक्ता शर्माले प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणको ध्यानाकर्षण गराएका हुन् । प्रतिपक्षी हुँदा उठाएको प्रश्नको जवाफ दिने ठाउँमा पुगेको भन्दै प्रवक्ता शर्माले लेखेका छन्, “बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते तीन वर्ष पुग्यो । सम्माननीय माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।”

पन्तको न्यायको लागि सामाजिक अभियन्ता, महिला अधिकारकर्मी, राजनीतिकर्मी, नागरिक समाज सबैले सामाजिक सञ्जालमार्फत् न्यायको हारगुहार गरिरहेका छन् । निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले छोरीले न्याय नपाएका कारण आफ्नो मनस्थितीमा आघात पुगेको र बेचैनी बढेको गुनासो गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?