सावधान ! निषेधाज्ञा खुलेसँगै नेपालमा संक्रमणदर उच्च रुपमा बढ्यो

लोकपथ
468
Shares

काठमाडौं – निषेधाज्ञा खुलेसँगै नेपालमा कोरोना संक्रमणदर बढ्न थालेको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा मात्रै थप ३ हजार ११४ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

१४ हजार ९१० जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २३०९ र एन्टिजेन विधिबाट ८०५ जनामा सङ्क्रमण पुष्टि भएको हो । यही अवधिमा २ हजार १९७ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमितमध्ये ७ लाख ४१ हजार ५६५ जना सङ्क्रमणमुक्त भइसकेका छन् । त्यस्तै, कोभिड–१९ को सङ्क्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ६९५ रहेको छ ।

मन्त्रालयले काठमाडौं उपत्यकासहित घना बस्ती भएका शहरहरुमा पनि संक्रमणको जोखिम कायमै रहेको भन्दै सतर्कता अपनाउन अनुरोध गरेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र ६१५ जना सङ्क्रमित थपिएका छन्। यसमध्ये काठमाडौँमा ४२१, ललितपुरमा १०८ र भक्तपुरमा ८६ जना रहेका छन् । त्यस्तै हाल नेपालमा २५ हजार ८६ जना होम आइसोलेसन, २ हजार ६७१ जना संस्थागत आइसोलेसन, ६५० जना आईसीयू र १६५ जना भेन्टिलेटरमा उपचाररत छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?