वागमती सफाइ महाअभियानको ४२८ औँ हप्ता

RSS
49
Shares

काठमाडौं । वागमती सफाइ महाअभियानको ४२८औँ हप्तामा गुह्येश्वरीमुनिको नदी किनारमा सफाइसँगै वृक्षरोपण गरिएको छ । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलको नेतृत्वमा भएको कार्यक्रममा अधिकार सम्पन्न वागमतीका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत कर्मचारी, काठमाडौं महानगरपालिका– ११ का अध्यक्ष हीरालाल तण्डुकार, अभियानकर्मी दुर्गा रावललगायतको सक्रियता थियो ।

सफाइपछि अधिकार सम्पन्न वाग्मतीको कार्यालय परिसरमा साउन महिनाको अवसर पारेर ५० रुद्राक्षका बिरुवा पनि रोपिएको छ । यसैगरी अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा शङ्खमूल क्षेत्रको नदी किनारमा पनि सफाइ गरिएको छ ।

विष्णुमती सफाइको ३६१औँ हप्तामा टोखा नगरपालिका–९ मनमैँजु पुलबाट दक्षिणतर्फको भागमा नदीको पर्खालसँगैको भागमा लगाइएका विरुवाको गोडमेल गरिएको छ । सो अवसरमा सडक पेटीमा सफाइसमेत गरिएको संयोजक शोभाकान्त पाण्डेले जानकारी दिए । सफाइमा अभियानकर्मी एवं स्थानीयवासीको उल्लेख्य सहभागिता थियो ।

यसैगरी वाग्मती गुह्येश्वरीमाथिको भाग, रुद्रमती, विष्णुमतीको माथिल्लो भाग, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथका उत्तर र पश्चिमी भेगमा पनि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर सफाइ गरिएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार जारी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?