किन स्थगित भयो कांग्रेसको वडा अधिवेशन ?

लोकपथ
299
Shares

काठमाडौं । नेपाली कांग्रेसको वडा तहको अधिवेशन स्थगित भएको छ।

शनिबार कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले वडा अधिवेशन स्थगित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

साउन १२ गतेदेखि वडास्तरीय अधिवेशन गर्ने कांग्रेसको कार्यसूची थियो। तर क्रियाशील सदस्यता वितरणमा विवाद भएपछि निर्धारित मितिमा वडा अधिवेशन गर्न नसकिएको प्रवक्ता शर्माले बताए।

क्रियाशील सदस्यताको काम कार्यतालिका अनुसार नहुँदा वडा अधिवेशन प्रभावित भएको हो । शनिबार सभापति शेरबहादुर देउवाको निजी निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले अहिलेसम्म समितिले गरेका कामको बारेमा जानकारी गराएका थिए ।

समितिले १२ साउनमा सदस्यताको अन्तिम सूची सभापति देउवालाई बुझाउने भएको छ । सभापति देउवाले हस्ताक्षर गरेपछि क्रियाशील सदस्यताको सूची केन्द्रीय निर्वाचन समितिलाई हस्तान्तरण गर्नेछन् । त्यसपछि निर्वाचन समितिले देशभरका सबै वडामा निर्वाचन अधिकृत खटाउनेछ ।

यसअघि कांग्रेसले १२ साउनमा वडा अधिवेशन, १६ साउनमा स्थानीय तहको अधिवेशन, २० साउनमा प्रदेश सभा निर्वाचन क्षेत्रको अधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको थियो ।

त्यस्तै प्रतिनिधि सभा निर्वाचन क्षेत्र र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २३ साउन, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउन, प्रदेश अधिवेशन १ र २ भदौ र केन्द्रीय महाधिवेशन १६–१९ भदौमा हुने कार्यतालिका कांग्रेसले सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?