तनावमा प्रचण्ड, बढ्यो दौडधुप

काठमाडौँ- नेकपा माओवादी केन्द्रमा मन्त्री पदका लागि हानाथाप शुरु भएको खुलेको छ। नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसको कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्री बन्न दबाव दिने नेताहरुको हुलबाट फुत्केर आएको प्रतिक्रिया दिएका हुन्।

प्रचण्डले केही दिनदेखि आफू मन्त्री आतंकको शिकार भइरहेको बताएका छन् । ‘सबैलाई मन्त्री चाहिएको छ । हामीले बढी पाइयो भने ७ जना हो । मन्त्री नभए चाहिँ नेतृत्वलाई सरापेर हिँड्ने, मन्त्री पायो भने मात्रै काम गर्ने प्रवृत्ति जबरजस्त छ अहिलेको परिपाटीभित्र,’ प्रचण्डले भने, ‘कि ठूलै राजनीतिक नियुक्ति पायो भने ठीकै छ । नभए नेतृत्व बदमास भयो भन्न बेरै नलगाउने । सबैलाई मन्त्री बनाउन त मन छ नि ! त्यसो गर्न पनि मिल्दैन ।’

त्यसो त प्रचण्ड आज बिहानैदेखि दौडधुपमा छन् । बिहानै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका प्रचण्ड प्रधानमन्त्रीसँगको भेट सकेर एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न कोटेश्वर पुगे ।

प्रचण्डले माधव नेपाल समूहलाई सरकारमा सहभागी गराउने कानुनी र राजनीतिक जटिलताका विषयमा नेताहरूसँग छलफल गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

अहिले मन्त्रीको संख्या र सहभागिता टुग्याउने विषयमा गठबन्धनका नेताहरू छलफलमा छन् । यता माधव नेपाल समूह भने सरकारमा सहभागी हुने वा नहुने भन्ने टुंगो लागेको छैन ।

देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको संख्या र सहभागिताबारे प्रचण्डको अगुवाइमा केहि दिनदेखि छलफल जारी छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?