रसियन इरिनासँग पराजित भइन् सोनिया

काठमाडौं। टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला ४८ केजी तौल समूह जुडो विधातर्फ नेपालकी सोनिया भट्ट पराजित भएकी छिन्।

शनिवार बिहान सम्पन्न पहिलो चरणको खेलमा सोनियाले रसियन ओलम्पिक कमिटीकी डोलगोभा इरिनासँग पराजय भोगेकी हुन्। राउण्ड अफ ३२ अन्तर्गतको खेलमा सोनियाले १ मिनेट १६ सेकेन्डसम्म प्रतिस्पर्धा गरेकी थिइन्। तर बलियो प्रतिद्वन्दी इरिनाले इप्पन जोडेपछि जित प्राप्त गरेकी हुन्। रसियन ओलम्पिक कमिटीकी इरिनाले अब फाइनलमा स्थान बनाएको खण्डमा सोनियाले रेपेचेजमार्फत फेरि प्रतिस्पर्धा गर्न पाउनेछिन्।

यसै महिना सम्पन्न कजान ग्रान्डस्लाम विजेता इरिना विश्व वरीयतामा ९औं स्थानमा रहेकी छिन्। रसियालाई डोपिङका कारण ओलम्पिकमा प्रतिबन्ध लगाइएको भएर इरिनाले रसियन ओलम्पिक कमिटीमुनि बसेर ओलम्पिक खेलेकी हुन्। खेलमा रसियाको राष्ट्रिय गान र झण्डाको प्रयोग भएको थिएन।

यता वाइल्डकार्डमार्फत ओलम्पिकमा छनोट भएकी सोनियाले १३औं सागमा काश्य पदक जितेकी थिइन्। विश्व जुडो च्याम्पियनशिपमा एक बाउट जित्ने पहिलो नेपाली खेलाडी सोनियालाई इरिनको चुनौती कठिन नै रहने अपेक्षा गरिएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?