शुटिङमा कल्पनाको राष्ट्रिय कीर्तिमान

काठमाडौं। टोकियो ओलम्पिक २०२० अन्तर्गत महिला १० मीटर एयर राइफल विधातर्फ कल्पना परियारले राष्ट्रिय कीर्तिमान रचेकी छिन्।

शनिवार विहान सम्पन्न छनोट चरणको खेलमा कल्पनाले ६१६.८ अंक बटुल्दै राष्ट्रिय कीर्तिमान रचेकी हुन्। आसाका शुटिंग रेन्जमा कल्पनाले राष्ट्रिय कीर्तिमान रचेपनि छनोट चरणबाटै बाहिरिएकी छिन्।

५० खेलाडीको सहभागिता रहेको समूह चरणबाट ८ शीर्ष खेलाडी अन्तिम चरणका लागि छनोट भएका छन्। पहिलो सिरिजमा १०२.२, दोस्रो सिरिजमा १०५.४ र तेस्रो सिरिजमा १०१.१ अंक बटुलेकी कल्पनाले चौथो सिरिजमा १०४.१ र पाँचौं सिरिजमा १०३.४ अंक प्राप्त गरेकी थिइन्। कल्पनाले छैटौं तथा अन्तिम सिरिजमा भने खराब प्रदर्शन गरिन् र १००.७ को अंक बटुल्दै उनको समग्र अंक ६१६.८ हुन पुग्यो। खेलमा उनी ४६औं स्थानमा रहन सफल भइन्।

छनोट चरणको खेलमा कल्पनाले सरणार्थी ओलम्पिक टोली, श्रीलंका, किर्गिजस्तान र बोस्नियालाई पराजित गर्न सफल भइन्। खेलमा नर्वेकी हेग दुस्ताद (६३२.९) ले शीर्ष स्थान ओगट्न सफल भइन्। त्यस्तै दक्षिण कोरियाकी पार्क हिमुन (६३१.७) दोस्रो र संयुक्त राज्य अमेरिकाकी मेरी टकर (६२८.७) तेस्रो भइन्।

यी तीनसँगै दक्षिण कोरियाकी युनजी क्वोन, फ्रान्सकी ओसियन मुलर, चीनकी किआङ याङ, स्विट्जरल्यान्डकी निना क्रिस्टियन र रसियन ओलम्पिक कमिटीकी आनास्तासिया गलाशिना पदकको लागि प्रतिस्पर्धा गर्नेछन्। फाइनल खेल आजै सम्पन्न हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?